arrow

न्यूनतम सेवा मापदण्डमा भरतपुर अस्पताल देशकै प्रथम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
Bharatpur-hospital-nea.jpeg

चितवन । भरतपुर अस्पताल स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको न्यूनतम सेवा मापदण्ड कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनमा देशभरका सङ्घीय अस्पतालहरूमध्ये प्रथम भएको छ। अस्पतालले ८८ प्रतिशत अङ्क प्राप्त गर्दै यो उपलब्धि हासिल गरेको हो।

मन्त्रालयले देशभरिका १५ वटा सङ्घीय अस्पतालमा गरेको यस अनुगमनमा भरतपुर अस्पतालले 'ग्रिनजोन' स्टिकर प्राप्त गरेको छ, जुन ८५ प्रतिशतभन्दा बढी अङ्क ल्याउने अस्पताललाई मात्र दिइन्छ। मेडिकल सुपरिटेण्डेण्ट प्रा. डा. कृष्णप्रसाद पौडेलले भरतपुर अस्पताल 'ग्रिनजोन' स्टिकर पाउने एक मात्र अस्पताल भएको जानकारी दिए।

सुशासन तथा व्यवस्थापन, चिकित्सीय सेवा र फोहरमैला लगायतका वस्तुहरूको व्यवस्थापनअन्तर्गत पर्ने सहयोगी सेवाका आधारमा यो मूल्याङ्कन गरिने गरिन्छ। मन्त्रालयले हरेक वर्ष यो अनुगमन गर्ने गर्छ। यस वर्ष मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीको नेतृत्वमा रहेको टोलीले भरतपुर अस्पतालको अनुगमन गरेको थियो।

मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. पौडेलले अस्पतालको सिङ्गो टिम गुणस्तरीय सेवा सुधारमा निरन्तर लागिपरेकोले यो राम्रो परिणाम आएको बताए। अस्पतालका सूचना अधिकारी गोपाल पौडेलका अनुसार, भरतपुर अस्पतालले हरेक वर्ष आफ्नो स्तरवृद्धि गर्दै आएको छ। वि.सं. २०७८ मा ५२ प्रतिशत, २०७९ मा ६२ प्रतिशत, २०८० मा ६४ प्रतिशत, २०८१ मा ७७ प्रतिशत र २०८२ मा ८८ प्रतिशत अङ्क प्राप्त गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ