एनआईसी एसिया बैङ्कको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँस्थित आफ्नै भवनमा स्थानान्तरण
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
493
Shares
काठमाडौँ। एनआईसी एसिया बैङ्क लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौँ–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ। उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरी बैङ्क सञ्चालक समितिका अध्यक्ष श्री तुलसीराम अग्रवालज्यूबाट मिति २०८२ ज्येष्ठ १० गते समुद्घाटन सम्पन्न भयो। उक्त पूजा तथा उद्घाटन समारोहमा बैङ्क सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत तथा बैङ्कका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैङ्कबाट स्वीकृत प्राप्त गरी यस अघि रहेको थापाथली, काठमाडौँ–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरूको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको हो।
कार्यालय स्थानान्तरण भएसँगै आदरणीय ग्राहक महानुभावहरू तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैङ्कले प्रदान गर्ने सम्पूर्ण सेवाहरू थप सहजताका साथ प्राप्त गर्नुहुनेछ भन्ने विश्वास बैङ्कले लिएको छ।
एनआईसी एसिया बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ४२ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ। साथै, बैङ्कले वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा समेत आफ्नो सेवा विस्तार गरेको छ।