भारतमा ह्वात्तै बढ्यो कोरोना सङ्क्रमण, एक हजार नाघे सक्रिय संक्रमित
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ १२ सोमबार
1.7k
Shares
तस्बिर फाइल
काठमाडौँ । भारतमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढेको छ। देशभर सक्रिय कोभिड-१९ संक्रमितको सङ्ख्या बढेर आज कुल एक हजार नौ पुगेको छ। यसअघि मे १९ मा कोरोना सङ्क्रमितको सङ्ख्या २ सय ५७ मात्र थियो।
सङ्क्रमण बढेका प्रमुख राज्यहरूमा केरला, तमिलनाडु र महाराष्ट्र रहेका छन्। द हिन्दुका अनुसार, केरलामा ४३०, महाराष्ट्रमा २०९, दिल्लीमा १०४, गुजरातमा ८३, तमिलनाडुमा ६९, कर्नाटकमा ४७, उत्तर प्रदेशमा १५, राजस्थानमा १३, पश्चिम बङ्गालमा १२, हरियाणामा ९, पुडुचेरीमा ९, आन्ध्र प्रदेशमा ४, मध्य प्रदेशमा २, तेलंगानामा १, गोवामा १ र छत्तीसगढमा १ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, हालै एनबी-१-८-१ र एलएफ-७ नामक कोभिड भेरिएन्टहरू पत्ता लागेका छन्। अप्रिलमा तमिलनाडुमा एनबी-१-८-१ को एउटा केस रिपोर्ट भएको थियो भने मे महिनामा एलएफ-७ का चार वटा केस फेला परेका छन्।
विश्व स्वास्थ्य सङ्गठनले यी दुवै उप-भेरिन्टलाई 'भेरिन्ट अण्डर मोनिटरिङ' को रूपमा वर्गीकरण गरेको छ। यी भेरिएन्टहरू चीन र एसियाका अन्य भागहरूमा कोभिड-१९ केसहरू बढ्नुको पछाडि रहेको बताइएको छ।