चितवन । गत साउनयता प्राकृतिक कारणले चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती सामुदायिक वन र डिभिजन वन कार्यालय अन्तर्गतका वन क्षेत्रमा २८ वटा गैंँडा मरेका छन् ।
निकुञ्ज र मध्यवर्ती क्षेत्रमा २७ वटा र राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार यो अवधिमा चोरी सिकारीले गैंँडा मार्न पाएका छैनन् । गत साउन, भदौ र असोजमा दुई/दुईवटा गैँडा मरेका थिए ।
कात्तिकमा चार, मङ्सिरमा दुई, पुसमा एक, माघमा तीन, फागुन र चैतमा चार/चार र वैशाखमा तीन वटा गैँडा मरेका हुन । यही जेठमा राष्ट्रिय वन क्षेत्रमा एउटा गैँडा मरेको हो ।
सूचना अधिकारी थापा मगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकआपसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बुढो भएर, भाले गैँडाले थिचेर ती गैंँडा मरेका हुन् ।
गत आर्थिक वर्षमा २१ वटा गैँडा मरेका थिए । मरेका गैँडामध्ये १८ वटा प्राकृतिक कारणले थिए भने दुई वटा चोरी सिकारीले र एउटाको कारण खुल्न सकेको थिएन ।
मगरका अनुसार आर्थिक वर्ष २०७९/८० मा चितवन राष्ट्रिय निकुञ्जमा २२ वटा गैँडा मरेका थिए ।
जसमध्ये २० वटा कालगतीले, एउटा विद्युतीय करेन्टबाट र एउटा चोरी सिकारीले मारेका थिए ।