प्रसिद्ध साहित्यकार डा. बानिरा गिरीले उहाँको निवासस्थानमा मलाई प्रश्न गर्नु भएको थियो, ‘नियात्रा भनेको के हो ?’ साहित्यको विद्यार्थीको हैसियतमा मैले लरबरिँदै नियात्रालाई अथ्र्याउने प्रयास गरेँ । जवाफ खस्नासाथ अनुहार उज्यालो पार्दै मलाई हौँस्याउन थाल्नु भयो ‘बल्ल मलाई नियात्राबारे छर्लङ्ग भयो । तपाईंको पुस्तक सर्सर्ती पढेँ । लेख्न पटक्कै नछोड्नु होला ।’
म उहाँको आशीर्वाद लियर फर्किएँ । वरिष्ठ साहित्यकार दाजु श्रीओम श्रेष्ठ रोदनले नियात्राको गोरेटोमा मलाई डोहोर्याइ दिनुभयो । मैले लेखेको पहिलो नियात्रा ‘फुजीको शिखरमा नेपाली झन्डा’ मधुपर्कमा छापिदिनु भएपछि वास्तवमा नियात्रा लेखनीमा म हौसिएको थिएँ । जसलाई साहित्यकार बिमल भौकाजीले शारदामा छापिदिएर उत्प्रेरित गरिरहनु भयो । फलस्वरूप मेरा नियात्राहरूले पुस्तकको स्वरूप लिन सफल भएको छ ।
यात्रारत रहनु मात्र नभई नियात्रा लेखन जीवनको अभिन्न अंग बनेको छ । र नियात्रा पुस्तकहरू खुराक झैँ लाग्छन् । समग्रमा जीवन नै एक यात्रा हो । यद्यपि नौला, अद्भूत र एतिहासिक स्थलहरूमा यायाबर भएर बरालिनु मेरा निजी शौखहरू हुन् ।
यात्रामा बरालिँदा प्राप्त अनुभूति, सम्झना र टिपोटहरूलाई बटुलिएका मेरा दुई पुस्तकहरू ‘जापानतिर बरालिँदा’ र ‘जापानका रमणीय स्थलहरू’ यसअघि नै प्रकाशित भैसकेका छन् ।
यस नबिन पुस्तक प्रकाशनमा सहयोग पुर्याउनु हुने अग्रज साहित्यकार प्रल्हाद पोखरेल, दाजु होम भट्टराई, मित्र अज्ञात युवक र नीलु श्रेष्ठप्रति अनुग्रहित छु । पुस्तकको बारेमा सदैब चासो राख्ने आयान, आयुष र शैली पनि धन्यवादका पात्र छन् । पुस्तक प्रकाशनदेखि बिक्री वितरणसम्मको सम्पूर्ण जिम्मेवारी बहन गरिदिने साझा प्रकाशनप्रति हार्दिक आभार प्रकट गर्दछु ।