arrow

पहाडबाट गडगडाउँदै झर्ने, फाँटमा पुगेपछि शान्त

logo
विश्वविमोहन श्रेष्ठ,
प्रकाशित २०८२ जेठ १७ शनिबार
abdhyudaya-bishwabimohan-82.jpg

बहने नदीको कलकल जस्तै कविताहरूका सर्जक हुन्, यस सङ्ग्रहकी कवि सुमन थापा ’सङ्गम’ । 

झट्ट हेर्दा प्रेम, विरह, विछोड र एकाङ्गीका विषयहरू बढी मुखरित भएको जस्तो लाग्ने उनका यी कविताहरू आशा, उमङ्ग, हौसला र अभिलाषाले पनि उत्तिकै अनुप्रेरित भएका छन् । 

अझ के भने कुनै आक्रोश, कुनै वितण्डता र कुनै कोलाहल नगरीकनै उनका कविताहरूले वर्तमानको विसङ्गति, विभेद, निराशा र कुण्ठाहरूप्रति पनि उत्तिकै शालीन विद्रोह गरिरहेको आँकलन सजिलै गर्न सकिन्छ ।

पहिलो कविता सङ्ग्रह प्रकाशनमा आएको सात वर्षपछि अहिले उनको यो दोस्रो सङ्ग्रह प्रकाशनमा आएको छ । 

पहिलो सङ्ग्रहबाटै पनि सबैको प्रिय भएकी कवि ’सङ्गम’ को यस दोस्रो सङ्ग्रहमा जम्मा ५२ थान कविताहरू सङ्गृहित छन् । यस सङ्ग्रहका कविताहरूले पनि सबै कविताप्रेमी पाठकहरूबाट उत्तिकै स्नेह र सद्भाव प्राप्त गर्न सक्ने विश्वास मलाई लागेको छ । 

मूलतः कवितामा प्रयुक्त भाषाको सुकोमलता र लय प्रायः कविताहरूमा पाइन्छ । प्रकृतिको अनुपम सौन्दर्यको बखानमा होस् वा विग्रहको चोटिलो प्रहारमा होस् उनका कविताहरूमा लयको क्रम एकनास गुन्जिरहेको अनुभूत गर्न सकिन्छ । 

त्यसैगरी असमानता, अपहेलना, तिरस्कार र उत्पीडनको प्रतिघातहरूमा पनि त्यस्तै शालीनता र संयमताको समान अनुभूत भइरहन्छ ।

यसरी हेर्दा कविता रचना उनका लागि लहड वा सोखको विषय मात्र नभएर अन्तः हृदयबाटै प्रकटित अन्तर्नाद हो भन्ने मलाई लागेको छ ।

वास्तवमा मेरो अनुभवले पनि साहित्य अझ त्यसमा पनि कविता केवल शिल्प र साधना मात्र नभएर हृदयको गहिराइबाट स्वतःस्फूर्त प्रकटित हुने अन्तर्नाद नै हो ।

यसमा कुनै दुविधा छैन ।

यसरी हेर्दा कवि सङ्गमका कविताहरू सबै किसिमका वाद र सिद्धान्तका सीमाहरूबाट मुक्त स्वच्छन्दतावादी भावधारामा लेखिएका
समकालीन नेपाली कविताहरूको एक प्रतिविम्ब हो । 

किनकि यसमा आजको हाम्रो समाजको समग्र मुहार देख्न सकिन्छ । छटपटि र कोलाहल मात्र हैन सिर्जना र प्रगतिको आभास पनि पाउन सकिन्छ ।

विविध विषयमा तरङ्गित उनका कविताहरू पढ्दै जाँदा अनुभूतिका अनेक इन्द्रेणीहरू फुर्दै गएको आभास पनि गर्न सकिन्छ । 

लेख्दै जाँदा कविता अरू परिमार्जित हुने, साधनाले थप ऊर्जा र महकता पैदा हुने आशा राख्न सकिन्छ । कविता आफैँमा एउटा जीवन हो, यसलाई जति निखार्न सक्यो, त्यो त्यति पुष्ट र जीवन्त देखिन्छ भन्ने पनि सत्य हो ।

अन्त्यमा कविलाई उनको यस दोस्रो कविता कृति ‘अभ्युदय’ का लागि पुनः हार्दिक बधाईसहित सिर्जना निरन्तरताका लागि मङ्गलमय शुभकामना ! (श्रेष्ठ एपेक नेपालका अध्यक्ष हुन्, अभ्युदयको शुभकामना भागबाट)
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ