‘प्लाष्टिक प्रदूषण न्यूनीकरण’ को नारासहित विश्व वातावरण दिवस मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २२ बिहिबार
602
Shares
काठमाडौँ । आज, जुन ५, विश्वभर ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ नाराका साथ विश्व वातावरण दिवस मनाइँदैछ। नेपालका विभिन्न स्थानमा पनि यो दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ।
संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसका रूपमा मनाउन थालिएको हो। यस वर्ष दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइँदैछ।
राष्ट्रसङ्घका अनुसार, हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लाष्टिकजन्य फोहर उत्पादन हुने गरेको छ। त्यसमध्ये १० प्रतिशत मात्र पुनः प्रयोग हुने र १ करोड १० लाख टन प्लाष्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ।
गैरकानुनी माछा मार्नेविरुद्धको सङ्घर्ष दिवस पनि आजै
आजको दिनलाई गैरकानुनी रूपमा माछा मार्नेविरुद्धको सङ्घर्ष दिवसका रूपमा पनि मनाइन्छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन सुरु भएको हो।
एफएओले दिगो विकासका लक्ष्य हासिल गर्न गैरकानुनी रूपमा माछा मार्ने प्रवृत्ति अन्त्य हुनुपर्नेमा जोड दिएको छ। एफएओका अनुसार, यसरी हरेक वर्ष १ करोड १० लाख देखि २ करोड ६० टन माछा गैरकानुनी रूपमा मारिँदा अर्बौँ डलरको आर्थिक हानि हुने गरेको छ।