श्रीलङ्काका पूर्व स्पिनर सेनानायकमाथि म्याच फिक्सिङको आरोपमा मुद्दा दायर
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
610
Shares
कोलोम्बो। श्रीलङ्काका पूर्व स्पिन बलर सचित्र सेनानायक बिहीबार मुलुकमा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानूनअन्तर्गत मुद्दा चलाइने पहिलो व्यक्ति बनेका छन्।
चालीस वर्षीय सेनानायकमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ। उनी सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा रहेका छन्। सेनानायकले भने आरोपहरू अस्वीकार गर्दै आएका छन्।
चौरहत्तर अन्तर्राष्ट्रिय खेल खेलेका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेलेका थिए। उनीमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ।
प्रहरीका अनुसार, म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानूनको उल्लङ्घन गर्ने सेनानायक पहिलो खेलाडी हुन्। यदि दोषी ठहरिएमा उनलाई अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले श्रीलङ्कालाई सबैभन्दा भ्रष्ट क्रिकेट खेल्ने राष्ट्रहरूमध्ये एक मानेको भनेपछि पूर्व खेलकुदमन्त्री हरिन फर्नान्डोले यो कडा नयाँ कानून ल्याएका थिए।
अर्का पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामागेले सन् २०२१ मा संसद्मा देशमा म्याच फिक्सिङ व्याप्त रहेको बताएका थिए। अलुथगामागेलाई भने असम्बन्धित भ्रष्टाचारको मुद्दामा २० वर्षको जेल सजाय भएको थियो।
श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा 'कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता' भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गरेका थिए।