प्रादेशिक अस्पतालका मेसु ढकाललाई दरबन्दीमा हाजिर हुन मन्त्रालयको पत्र
नारायण वली,
प्रकाशित २०८२ जेठ २३ शुक्रबार
1.2k
Shares
लुम्बिनी । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सुपरिटेन्डेन्ट (मेसु) इन्द्र ढकाललाई दरबन्दी रहेको गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा हाजिर हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको पत्राचार गरेको छ ।
२०८१ असार ५ गतेको निर्णायनुसार गजेन्द्रनारायण सिंह अस्पताल सप्तरीमा पदस्थापना भएका वरिष्ठ अर्थोपेडिक सर्जन (दशौं तह) इन्द्र ढकाल हाल बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा काजमा रहेकाले दरबन्दी रहेको गजेन्द्रनारायण अस्पतालमा सेवा प्रवाह प्रभावित भएको भन्दै मन्त्रालयमा पत्र मार्फत र मौखिकरुपमा ताकेता भएकाले डा-ढकाललाई दरबन्दीमा हाजिर हुन पत्राचार गरेको छ ।
शुक्रबार दरबन्दी रहेको निकायमा हाजिर हुन स्वास्थ्य मन्त्रालयले लुम्बिनी प्रादेशिक अस्पताल प्रशासन र लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई बोधार्थ गर्दै मन्त्रालयका शाखा अधिकृत बद्रीराज ढकालद्धारा हस्ताक्षरित पठाइएको पत्रमा उल्लेख छ ।
यसअघि मेसु डाक्टर ढकाल आफ्नो दरबन्दीमा हुन लागेको सरुवा रोक्न केन्द्र शक्तिमा धाउँदै आएका थिए ।
काजमा रहेर मेसु बनेका ढकालको कार्यकालमा लुम्बिनी प्रदेश सरकारले गैरबको आयोजना घोषणा गरेको लुम्बिनी प्रादेशिक अस्पतालको बाह्र सय बेडको अत्याधुनिक भवनको ठेक्का प्रकरण, एघारौं तहलाई उछिन्दै दशौँ तहकोलाई गरिएको मेसु नियुक्ति विवाद, अस्पताल व्यवस्थापन समिति विवाद र एमआरआई खरिद प्रकरण विवादित बनेका थिए ।