सूचना विभागका महानिर्देशक परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा [विवरणसहित]
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ २८ बुधबार
872
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत एवं हालका सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी कामपाका प्रमुख प्रशासकीय अधिकृत हुँदा सामाखुसी करिडोरअन्तर्गत बसुन्धरादेखि म्हेपीसम्मको ठेक्कामा अनियमितता भएको निष्कर्षसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
उनीहरुमाथि सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरी भ्रष्टाचार गरेको आरोप छ ।
अख्तियारले उनीहरूविरुद्ध चार करोड ३१ लाख ७२ हजार रुपैयाँको बिगो कायम गरी मुद्दा दायर गरेको हो ।
मुद्दामा बोलपत्र मूल्यांकन समितिका पदाधिकारीहरू निर्देशक रवीनमान श्रेष्ठ, शिवराज अधिकारी, वसन्त आचार्य, नमराज ढकाल तथा इन्जिनियर जनार्दन गिरी र खरिद एकाइका सहायक निर्देशक उत्तम दाहाललाई प्रतिवादी बनाइएको अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।