अमूर्त सम्पदा संरक्षणका लागि काठमाडौँमा 'धर्मपथ महोत्सव' आज हुँदै
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
485
Shares
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अमूर्त सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि आज 'धर्मपथ महोत्सव' आयोजना गर्दैछ। महानगरको वडा नं २३ ले आयोजना गरेको यो महोत्सव धर्मपथमा लाग्नेछ।
वडाध्यक्ष मचाराजा महर्जनका अनुसार, वडाभित्रका मौलिक चालचलन, रहनसहन, वाद्यवादन, गायन, नृत्य लगायतका गुथि, खलक, पुचले परम्पराका रूपमा धानेका अमूर्त सम्पदाहरूको प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ यो मेला आयोजना गरिएको हो।
वडाध्यक्ष महर्जनले जानकारी दिए अनुसार, गुथिले नियमित चलाएका चलनका साथै यस्ता अमूर्त सम्पदाको संरक्षणका लागि वडाको सहयोगमा सांस्कृतिक प्रशिक्षणहरू सञ्चालन गरिएका छन्। "प्रशिक्षणबाट वाद्यवादन, गायन, नृत्य लगायतका सीप प्रदान भएको छ। मेलामा यी सीप प्रदर्शन हुनेछन्," उनले भने।
यसका साथै, स्थानीय उत्पादन वृद्धिका लागि वडाले प्रदान गरेको सीपमूलक तथा व्यावसायिक तालिमबाट उत्पादित वस्तुहरूको बजारीकरणका लागि पनि मेला आयोजना गरिएको महर्जनले बताए।
मेलामा सांस्कृतिक कार्यक्रमसँगै, स्वास्थ्य परीक्षण शिविर, स्थानीय तथा मौलिक खाद्य परिकारका स्टल, हस्तकला तथा परम्परागत वस्तु तथा सामानका स्टलहरू रहनेछन्। दिउँसो १:०० बजेदेखि सुरु हुने मेलाअन्तर्गत अपराह्न ४:३० देखि ६:०० बजेसम्म स्थानीय गुथि, खल, पुचका कलाकारहरूको प्रस्तुति रहनेछ। त्यसपछि प्रसिद्ध कुटुम्ब ब्याण्डले प्रस्तुति दिने कार्यतालिका रहेको वडाध्यक्ष महर्जनले जानकारी दिए।
वडाध्यक्ष महर्जनका अनुसार, यो मेलाबाट वडाभित्रका अमूर्त सांस्कृतिक सम्पदाको पुस्तान्तरणमा सहयोग पुग्ने, मौलिकता पहिचान प्रवर्द्धन हुने, स्थानीय आर्थिक, सामाजिक तथा सांस्कृतिक गतिविधिमा योगदान पुग्ने, र स्थानीय उत्पादनको प्रवर्द्धन तथा बजारीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। यसअघि गत चैतमा कामपाकै वडा नम्बर १५ ले पनि यस्तै महोत्सव आयोजना गरिसकेको छ।