मुग्लिन (चितवन) । गर्मी बढेसँगै चितवनको इच्छाकामना गाउँपालिकाका पर्यटकीयस्थलहरूमा आन्तरिक पर्यटकको आगमन ह्वात्तै बढेको छ। यहाँका उर्दाङ्गढी, लामो झरना, सिराइचुली, हात्तीवाङ गाउँ, मायाटार, घुर्केश र इच्छाकामना मन्दिरमा पर्यटकको चाप बढेको हो।
होटल व्यवसायी सङ्घका पूर्वअध्यक्ष दासीराम ढकालका अनुसार, इच्छाकामनाका विविध प्राकृतिक सौन्दर्यमा रमाउन र त्रिशूलीमा जलविहार गर्न आन्तरिक पर्यटकहरू आउने गरेका छन्। "चितवनका तराई क्षेत्रमा गर्मी बढ्दो छ तर यहाँ गर्मीको महसुस नै हुँदैन, जाडो छ," उनले भने।
गर्मी बढेसँगै मायाटारसहित उर्दाङ्गढी, घुर्केश, हात्तीवाङ लगायतका गाउँका घरबासहरू भरिभराउ भएका छन्। इच्छाकामना–२ मायाटारमा घरबास सञ्चालन गर्दै आएकी टीका गुरुङले आन्तरिक पर्यटकको बाक्लो आगमनले आफूहरू उत्साहित भएको बताइन्। "यहाँ बाह्रै महिना पर्यटकहरू आउने गर्छन् तर गर्मी मौसममा आन्तरिक पर्यटकको चाप बढ्ने गरेको छ," उनले भनिन्।
गुरुङका अनुसार, गत वर्षको जेठमा मायाटार र घुर्केशमा दैनिक २० जनाको हाराहारीमा पर्यटक आउने गरेकोमा हाल दैनिक ५० जनासम्म पर्यटक आउने गरेका छन्। शनिबार र अन्य सार्वजनिक बिदाका दिन अझ बढी पर्यटक आउने गरेको उनले बताइन्।
हाल घुर्केशमा १४ र मायाटारमा दुईवटा घरबास सञ्चालनमा रहेको जानकारी दिँदै इच्छाकामना गाउँपालिकाका अध्यक्ष दान बहादुर गुरुङले पालिका क्षेत्रका पर्यटकीय क्षेत्रमा पूर्वाधार सुधार तथा घरबास सञ्चालनमा सहयोग गर्दै आएको बताए।