श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन, वेबसाइट उद्घाटन
हाम्रा कुरा
प्रकाशित २०८२ जेठ ३० शुक्रबार
664
Shares
काठमाडौँ । गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सवको अवसरमा आयोजित श्रीलिङ्गमहापुराण र श्रीमत्स्यमहापुराणको नेपाली अनुवाद विमोचन तथा गीताप्रेस नेपालको वेभसाइट गीताप्रेसनेपाल डट ओआरजी, गीताप्रेसनेपाल डट ओआरजी डट कम एवं मोबाइल एप्प गीताप्रेस नेपाल लन्चिङ्ग कार्यक्रम भएको छ ।
गीताप्रेस नेपाल, गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँका अध्यक्ष जय किसन साडाको सभापतित्व, गीताप्रेस गोरखपुरका प्रबन्धक–डा लालमणि तिवारीको प्रमुख आतिथ्यतामा तथा भगवान् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा गोविन्द टण्डनको विशिष्ट आतिथ्यतामा, गीता परिवारकी अध्यक्ष सारिका अग्रवालको आतिथ्यतामा जेठ २९ गते बिहीबार माधवराज सुमार्गी स्मृति भवन वनकाली पशुपतिमा धर्मानुरागी महानुभावहरुको उल्लेख्य उपस्थितिमा सम्पन्न भएको हो ।
सत्य एवं शान्ति हेतु मानव मात्रको सेवामा समर्पित भई विगत १०२ वर्षदेखि सेवाप्रदायक विश्वविख्यात संस्था गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय शाखा नेपालमा गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँ स्थापना भएको नौ वर्ष पूरा भई १० वर्ष प्रवेशको अवसरमा कार्यक्रम आयोजना भएको हो ।
आयोजित गीताप्रेस नेपाल स्थापनाको प्रथम दशकको गौरवमय उत्सव कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई स्वागत गर्दै गीताप्रेस नेपाल गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँका अध्यक्ष जयकिसन साडाले नेपालमा गीताप्रेस गोरखपुरको अन्तर्राष्ट्रिय
शाखा २०७३ जेठ २९ गते शनिबार पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा गोविन्द टण्डन एवं गीताप्रेस गोरखपुरका प्रबन्ध न्यासी विष्णुप्रसाद चाँदगोठिया देवीदयाल अग्रवाल र नारायण अजीत सरियाको संयुक्त करकमलबाट धर्मपरायण हजारौँ महानुभावहरुको उपस्थितिमा विधिवत् समुद्घाटन भई गीताप्रेसको अन्तर्राष्ट्रिय शाखाको रुपमा अनवरत रुपमा संचालनमा रहेको बताए ।
उनले गीताप्रेसबाट प्रकाशित भएका कृतिहरुको प्रचार प्रसार एवं आम सर्वसाधारणले अनलाइनको माध्यमबाट पुस्तकहरु निःशुल्क अध्ययन गरी आध्यात्मिक एवं धार्मिक लाभ लिन सकुन् र चरित्रवान, सुसंस्कृति समाजको निर्माण होस् भन्ने उद्देश्य लिई गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँ स्थापना भएको १० वर्ष प्रवेशको अवसर पारी मोबाइल एप्स र वेभसाइट लन्च गर्न लागिएको र उक्त एप्स तथा वेभसाइटमा गीताप्रेसबाट प्रकाशित पुराण, रामायाण, उपनिषद, स्तोत्र, चालिसा, नित्य पाठ, कर्मकाण्ड, भजनसहित महत्वपूर्ण लेख रचनाहरुलाई समावेश गरिएको जानकारी गराए ।
यस अन्तर्राष्ट्रिय शाखाबाट सिंगापुर, इन्डोनेसिया, दुबई, अष्ट्रेलिया, अमेरिका लगायतका देशहरुमा पुस्तक पठाउने कार्य भइरहेको र विदेशमा रहेको मन्दिरहरुमा गीताप्रेसका प्रकाशनहरु उपलब्ध गराउने कार्य भइरहेको र गीताप्रेस पुस्तक बिक्री केन्द्र काठमाडौँको संचालनमा सहयोग पुगोस् भन्ने उद्देश्यले एवं गीताप्रेसबाट प्रकाशित भएका कृतिहरुको निःशुल्क वितरण तथा प्रचार प्रसार गरी निःशुल्क सेवा प्रदान गर्ने र सोही संस्था मार्फत
नेपालमा गीता भवन निर्माण गर्ने उद्देश्य पशुपति क्षेत्र आसपास नेपालमै एक ‘गीता भवन’ निर्माणको योजना अगाडि सारेको छ ।
यस भवनको मुख्य उद्देश्य गीताप्रेस गोरखपुरका सत्साहित्यहरुको थोक तथा खुद्रा बिक्री केन्द्र स्थापना गर्नु, पुस्तक गोदाम तथा वितरण कार्यालय बनाउनु, मोबाइल गाडीबाट देशभर प्रचार–प्रसारको तयारी गर्नु र भविष्यमा अनलाइन प्रणालीमार्फत पुस्तक वितरणको दीर्घकालीन योजना कार्यान्वयन गर्नु रहेको छ ।
यस उद्देश्यलाई मूर्तरूप दिनलाई उपयुक्त १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा खोजी कार्य पनि जारी रहेको छ । हाल पाँच सदस्यीय प्रचार–प्रसार केन्द्रलाई विस्तार गरी अधिकतम २१ जना ट्रष्टिसम्म पुर्याउने र १५०० वर्गफुट क्षेत्रफल बराबरको जग्गा प्रदान
गर्ने महानुभावका लागि एक विशिष्ट ट्रष्टि आरक्षित राखिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि गीताप्रेस गोरखपुरका प्रवन्धक–डा. श्री लालमणि तिवारीज्यू, विशिष्ट अतिथि भगवान् पशुपतिनाथका मूल भट्ट गणेश रावल भट्ट र मानव सेवा आश्रमका संरक्षक डा गोविन्द टण्डन, अतिथि, गीता परिवार नेपालकी अध्यक्ष सारिका अग्रवालले
शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा उपस्थित व्यक्तिहरुलाई गीताप्रेस नेपालका उपाध्यक्ष ईश्वरीप्रसाद रिमालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन यदुनन्दन भारद्वाजले गरेका थिए ।
गीताप्रेस पुस्तक बिक्री केन्द्रको व्यवस्थापनमा, पशुपतिनाथ मन्दिर क्षेत्रमै पहिलोपटक श्रीगीता जयन्ती महोत्सव आयोजना गरी, नेपाली भाषामा सरल गीता प्रकाशित गरी हजारौँ विद्यार्थीहरूलाई निःशुल्क वितरण गरी डा वासुदेवकृष्ण शास्त्रीको संयोजकत्वमा ‘घर–घर
गीता—हाम्रो अभियान’ कार्यक्रमको घोषणा गरिएकोमा नेपालका विभिन्न विद्यालयहरू, गुरुकुलहरू र नेपालीभाषीसम्म पुर्याउने गीताप्रेस नेपालको लक्ष्य रहेको छ ।
‘घर–घर गीता– हाम्रो अभियान’ लाई सफलतापूर्वक सञ्चालन गर्न निरन्तर मार्गदर्शन गर्ने डा वासुदेवकृष्ण शास्त्रीप्रति आभार व्यक्त गरेका छन् ।
साथै नेपाली भाषामा ६० भन्दा बढी सत्साहित्य अनुवाद सम्भव बनाउन योगदान पुर्याउने प्रा. शिव गोपाल रिसाल, डा. गोविन्द टण्डन, डा. काशीनाथ न्यौपाने, आचार्य लक्ष्मण भण्डारी, प्रा. पदमप्रसाद भट्टराई, स्व. विष्णुराज आत्रेय, केदारनाथ दास, माहेश्वर खनाल लगायतका अन्य विद्वत् व्यक्तित्वप्रतिसमेत आभार व्यक्त गरिएको छ ।