नेपाल सरकार र नेपाली समुदायले खेल्नुपर्ने भूमिका र इजरायलमा भएका नेपालीले अपनाउनु पर्ने सावधानी
खेमराज जम्मरकट्टेल,
प्रकाशित २०८२ असार ३ मंगलबार
1.1k
Shares
इजरायल र इरानबीचको युद्ध दिनप्रतिदिन चर्किँदै गएको छ। १३ जुनदेखि इजरायलले “अपरेशन राइजिङ लायन” नाम दिएर इरानविरुद्ध ठूलो सैन्य अभियान शुरू गरेसँगै अहिले युद्ध पूर्ण हवाई आक्रमणमा परिणत भएको छ।
इजरायली सेनाले इरानका करिब सयभन्दा बढी मिलिटरी बेसरूमा प्रहार गरिसकेको छ। अर्कोतर्फ इरानले नौ चरणमा ड्रोन र मिसाइल आक्रमण गर्दै इजरायलका मुख्य सहरहरू तेलअविव, हाइफा, पेताह तिक्भा लगायतमा क्षति पुर्याएको इजरायली मिडियाहरूले बताएका छन् ।
यस क्रममा दर्जनौँ नागरिकको मृत्यु भइसकेको छ भने सयौँ घाइते भएको बताइएको छ ।
नेपाली समुदायको अवस्था
इजरायलमा यकिन नेपाली कति छन् थाहा नभए पनि करिब ६ हजार भन्दा बढी नेपालीहरू कार्यरत रहेको बताइएको छ । मुख्यतया वृद्दाश्रम, खेतीपाती तथा होम केयर क्षेत्रमा । अहिलेको युद्धको केन्द्र क्षेत्रहरूमा केही नेपालीमा मनोवैज्ञानिक रूपले प्रभावित भएको पाइएको छ ।
हालसम्म कुनै नेपालीको मृत्यु वा गम्भीर घाइते भएको पुष्टि भइसकेको छैन तर सतर्कता अति आवश्यक देखिएको छ ।
इजरायली सुरक्षा निकायले सबै नागरिक र विदेशी कामदारहरूलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन, सरकारी सूचनाहरू ध्यानपूर्वक पालना गर्न तथा बंकर वा सुरक्षित कोठामा बस्न आग्रह गरेको छ।
विशेष गरी रातको समयमा कम्तीमा २/३ पटक इरानबाट हुने मिसाइल आक्रमणले यहाँका इजरायली नागरिक तथा विदेशी कामदारहरू सुरक्षित स्थानमा जानुपर्ने बस्नु पर्ने अवस्थाले मानसिक रूपमा थकित हुन थालेको देख्न सकिन्छ ।
विदेशी कामदार तथा नेपालीहरूको लागि आवश्यक तयारी
१. सरकारी सूचना पालना– रेड अलर्ट, साइरन, वा ‘टेसेर’ (सुरक्षात्मक घण्टी) बजेको अवस्थामा तुरुन्त बंकरतिर जानुहोस् ।
२. आपतकालीन झोला तयार – पासपोर्ट, आईडी, मोबाइल चार्जर, टर्चलाइट, केही खानेकुरा र पानी सहितको झोला तयार राख्नुस् ।
३. नेपाली समुदाय सञ्जालमा आवद्ध– संकटको बेला सहयोगका लागि नेपाली स्वयंसेवी समूहहरू, यहाँ रहेका नेपाली संघ संस्थाहरू संग २४/७ सम्पर्कमा रहनुस् ।
४. धेरै भीडभाड, सार्वजनिक कार्यक्रम वा भिडभाड भएका स्थानहरूबाट टाढा रहनुपर्ने ।
५. नेपालमा रहेका परिवारमा सूचना दिने र नियमित सम्पर्कमा रहने – आफ्नो घरपरिवारलाई आफु सुरक्षित रहेको जानकारी निरन्तर दिनुहोस्।
यस्तै अन्तर्राष्ट्रिय स्तर जस्तै जी७ राष्ट्रहरूले इजरायललाई आत्मरक्षाको अधिकार भएको पुष्टि गर्दै इरानलाई “क्षेत्रीय अस्थिरताको मुख्य स्रोत” भनेर निन्दा गरेका छन् । अन्तर्राष्ट्रिय परमाणु एजेन्सी (आईएईए) ले इरानको नतांज क्षेत्रमा हानिएको मिसाइलले आणविक जोखिम निम्त्याउन सक्ने भन्दै चासो व्यक्त गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि “युद्ध अब बन्द हुनु आवश्यक छ” भन्दै राजनीतिक समाधानको सुझाव दिइरहेका छन् ।
युद्धको अवस्था अझ केही समय स्थिर नहुन सक्छ। यस्तो अवस्थामा इजरायलमा रहेका नेपालीहरूले उच्च सतर्कता, सुरक्षा मापदण्ड र समुदायिक सहयोगमा विशेष ध्यान दिनुपर्छ। कुनै पनि आपतकालीन परिस्थितिमा तुरुन्त स्थानीय अधिकारी वा नेपाली समुदाय सहायता केन्द्रमा सम्पर्क गर्नु अत्यन्त जरुरी हुनेछ।
इजरायल–इरान युद्ध चर्किदै गए नेपाल र राजदूतावासले गर्नु पर्ने तयारी
इजरायल र इरानबीच जारी सैन्य तनावले युद्धको स्वरूप लिँदै जाँदा, इजरायलमा बसोबास गरिरहेका हजारौँ नेपालीको सुरक्षाको प्रश्न गम्भीर बन्दै गएको छ।
युद्ध चर्किएर दीर्घकालीन हुने संकेत देखिँदै जाँदा, नेपाल सरकार र तेलअविवस्थित नेपाली राजदूतावासले अब थप प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता तीव्र रूपमा महसुस हुन थालेको छ ।
नेपाली राजदूतावासको अग्रपंक्तिको जिम्मेवारीः
युद्धका कारण उत्पन्न सम्भावित संकटलाई मध्यनजर गर्दै राजदूतावासले निम्न रणनीतिहरू अवलम्बन गर्न जरुरी देखिन्छः
• २४/७ हेल्पलाइन सेवा संचालन गर्दै संकटमा परेका नेपालीहरूलाई तत्काल सूचना र सहायताको पहुँच उपलब्ध गराउनु ।
• सुरक्षित स्थानान्तरणको सम्भावना रहने क्षेत्रहरू पहिचान गरी इजरायली सुरक्षा निकायहरूसँग समन्वय गर्ने ।
• डिजिटल सूचना केन्द्रमार्फत सामाजिक सञ्जाल, मोबाइल म्यासेज वा वेबपोर्टलमार्फत लगातार सूचनाको आदानप्रदान ।
• राहदानी वा परिचयपत्र हराएका नेपालीहरूलाई आपतकालीन यात्रा कागजात जारी गर्ने प्रक्रिया सहज बनाउने।
नेपाल सरकारको तयारीको खाकाः
परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयले तालमेल गर्दै इजरायलस्थित नेपालीहरूको तथ्यांक अद्यावधिक गरी, आपतकालीन अवस्थामा निम्न कार्यहरू तयार गर्नु पर्ने देखिन्छः
• नागरिक उद्धार योजना : युद्ध अत्यन्त गम्भीर भएको अवस्थामा नेपालीलाई स्वदेश फर्काउने तयारी, जसका लागि नेपाल वायुसेवा निगम वा चार्टर फ्लाइटको व्यवस्था गरिनुपर्नेछ।
• नयाँ कामदार पठाउने प्रक्रिया स्थगित गर्ने निर्णय, युद्धग्रस्त क्षेत्रमा जनशक्ति पठाउन नहुने नीति कार्यान्वयन ।
• विदेशी उद्धार संयन्त्रमा समावेश : अन्य मित्र राष्ट्रहरूको सहकार्यमा संयुक्त उद्धार अभियानको पहल ।
नेपाली समुदाय र संस्थाको भूमिकाः
स्थानीय नेपाली संस्था, अभियन्ता र स्वयंसेवीहरूले राजदूतावाससँग समन्वय गर्दै नेपालीहरूको सुरक्षाका लागि निरन्तर सहयोग गर्दै आएका छन् । विशेषगरी, आपसी सम्पर्कमा रहने, समस्या परेको व्यक्तिको विवरण तुरुन्त सम्बन्धित निकायमा पुर्याउने, र अत्यावश्यक सामग्रीको व्यवस्थापनमा सहायता गर्ने काम महत्वपूर्ण छ।
युद्धको अवस्था अझै भयावह हुँदै गयो भने इजरायलमा रहेका नेपालीहरूको सुरक्षा केवल व्यक्तिगत सतर्कतामात्र होइन, राज्यस्तरको तीव्र उत्तरदायित्व पनि हो । नेपालको कूटनीतिक संयन्त्र, नीति निर्माण तह र स्थानीय नेपालीहरूको संयुक्त प्रयासबाट मात्र सम्भावित जोखिम न्यूनीकरण गर्न सकिन्छ । (जम्मरकट्टेल हाल इजरायलको तेल अभिभमा छन्, नेपालमा झापाका उनी झापाली समाज इजरायलका संस्थापक तथा वरिष्ठ -सल्लाहकारसमेत हुन्)