इजरायल–इरान युद्ध शुरु भएको इरानी सर्वोच्च नेता खामेनीको घोषणा
खामेनीको यो घोषणापछि इरानले इजरायलमाथि गर्यो २५ वटा मिसाइल प्रहार
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
1.8k
Shares
तस्बिर– इजरायली शहर तेल अभिभमाथि इरानी क्षेप्यास्त्र रोक्न इजरायली वायु रक्षा प्रणालीहरू सक्रिय पारिएका छन् , एएफपी ।
काठमाडौँ । इरानका सर्वोच्च नेता अयातोल्लाह खामेनीले इजरायलविरुद्ध युद्ध घोषणा गरेका छन् । बुधबार उनले यस सम्बन्धमा सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युद्ध सुरु हुन्छ। हामी आतंकवादी यहूदी शासनलाई कडा जवाफ दिनेछौँ । उनीहरूलाई कुनै दया देखाउने छैनौँ ।’
खामेनीको यो घोषणापछि इरानले इजरायलमाथि २५ वटा मिसाइल प्रहार गरेको छ । इरान–इजरायलबीच विगत ६ दिनदेखि हिंसात्मक द्वन्द्व चलिरहेको थियो । अब खामेनीको घोषणापछि, यसलाई युद्ध भनिने छ। धेरै मिडिया रिपोर्टहरूका अनुसार, अमेरिका पनि चाँडै यो युद्धमा सामेल हुन सक्छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडाको जी७ सम्मेलन बीचमै छाडेर फर्केपछि ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा टोलीसँग बैठक गरेका छन् । यसपछि, अमेरिकाले मध्यपूर्वमा थप लडाकु विमान पठाउने निर्णय गर्यो ।
जर्मनी पनि इजरायलको पक्षमा लागेको छ ।
इरान र इजरायलबीचको लडाइँमा हालसम्म २२४ इरानी मारिएका छन् भने १ हजार ४८१ जना घाइते भएका छन् । अमेरिकी मानवअधिकारवादी संस्थाले भने ४ सय भन्दा इराकीको ज्यान गएको बताइसकेको छ ।
यता इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने ६०० भन्दा बढी घाइते भएका छन् ।