‘सावर्णि’ उपन्यासलाई २०८१ को उत्कृष्ट कृति पुरस्कार
हाम्रा कुरा
प्रकाशित २०८२ असार ४ बुधबार
661
Shares
काठमाडौँ । डा. श्रीधर खनालको उपन्यास ‘सावर्णि’लाई तानसेन नगर प्रज्ञा प्रतिष्ठानले उत्कृष्ट कृति पुरस्कार प्रदान गरिएको छ ।
उक्त पुरस्कार प्रतिष्ठानका अध्यक्ष साहित्यकार चोलेश्वर शर्मा र तानसेन नगरपालिका प्रमुख सन्तोषलाल श्रेष्ठले एक भव्य समारोहमा प्रदान गरेका थिए ।
लुम्बिनी प्रदेशका लेखकद्वारा २०८१ सालभित्र प्रकाशित भएका साहित्यका विविध कृतिमध्ये उत्कृष्ट एकलाई सम्मान गर्ने उद्देश्यले यसै वर्षदेखि प्रदेश स्तरीय उत्कृष्ट कृति पुरस्कार दिने घोषणा सँगै कृति आह्वान गरेको थियो ।
प्रज्ञा प्रतिष्ठानलाई प्राप्त भएका १७ वटा पुस्तकमध्ये निर्णायक समितिद्वारा डा. श्रीधर खनालको उपन्यास सावर्णिलाई सर्वोकृष्ट ठहर गरेको हो ।
पुरस्कारमा नगद ६८ हजार रुपैयाँसहित ताम्रपत्र प्रदान गरिएको छ ।
बुक हिल पब्लिकेसनबाट प्रकाशित बहुचर्चित सावर्णि नौलो विषयवस्तु र आकर्षक शैलीका कारण पाठकको रोजाइमा परेको छ ।
एआई र मानव भविष्यको विषयलाई लिएर रचिएको सावर्णि उपन्यास नेपालकै पहिलो रोबोटिक्स साइन्स फिक्सन हो ।
उक्त समारोहमा प्रतिष्ठानद्वारा ढाका उद्यमी तथा समाजसेवी पूर्णमाया महर्जनलाई दीर्घ सेवा सम्मानद्वारा सम्मानित गरिएको छ ।