arrow

चितवन निकुञ्जमा गोहीका दुई सय नयाँ बच्चा कोरलिए

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार ५ बिहिबार
gohi-siriyalai.jpg

चितवन। चितवन राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा राप्ती नदी किनारबाट सङ्कलन गरिएका गोहीका अण्डाबाट २०२ वटा नयाँ बच्चा कोरलिएका छन्। कुल २३२ अण्डा सङ्कलन गरिएकोमा, प्रयोगशालामा राखिएका २० वटामध्ये १९ वटा र प्राकृतिक रूपमा केन्द्रमै राखिएका अन्य अण्डाबाट बाँकी बच्चा कोरलिएका हुन्।

निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार, वैशाख १६ गते राप्ती नदी किनारमा रहेका गोहीका १८ वटा गुँडमध्ये ७ वटाबाट २३२ वटा अण्डा सङ्कलन गरी केन्द्रमा ल्याइएको थियो। यसो गर्नुको मुख्य कारण भनेको प्राकृतिक अवस्थामा सर्प, चराचुरुङ्गी, अन्य जनावरहरू र मानवीय गतिविधिको साथै बाढीका कारण अण्डामा क्षति पुग्ने जोखिम उच्च हुनु हो।

चितवन राष्ट्रिय निकुञ्जले सन् १९७८ मा गोही प्रजनन केन्द्र स्थापना गरेर यही जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिएको छ। जोखिममा रहेका गुँडबाट अण्डा सङ्कलन गरी केन्द्रमा ल्याएर कोरल्ने र हुर्काउने गरिन्छ।

केन्द्रमा हुर्किएका गोहीका बच्चालाई विभिन्न नदीहरूमा छोड्ने गरिन्छ। सुरुमा नारायणी, राप्ती र कर्णालीलगायतका नदीमा छाडिने गरे पनि हाल राप्ती र नारायणी नदीमा मात्रै छाडिने गरिएको छ। सन् १९८१ देखि यसरी हुर्किएका गोहीहरूलाई नदीमा छोड्न थालिएको हो। यो प्रयासले नेपालमा लोपोन्मुख घडियाल गोहीको संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ