इजरायलमा इरानको क्षेप्यास्त्र आक्रमण: अस्पतालमा क्षति, सैन्य अखडा निशाना बनाएको दाबी
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.5k
Shares
जेरुसेलम । बिहीबार दक्षिणी इजरायलको सोरोका अस्पतालमा इरानले क्षेप्यास्त्र आक्रमण गरेको छ। यस आक्रमणबाट अस्पताल र तेल अभिभ नजिकैका दुई सहरमा कम्तीमा ४७ जना घाइते भएको इजरायली उद्धारकर्ताले जानकारी दिएका छन्। यद्यपि, इरानले भने आफ्नो आक्रमणको मुख्य निशाना अस्पताल नभई इजरायली सेना र गुप्तचर बेस भएको दाबी गरेको छ।
इरानको सरकारी समाचार संस्था आइआरएनएले अधिकारीहरूलाई उद्धृत गर्दै जनाएअनुसार, "आक्रमणको मुख्य निशाना इजरायली सेनाको कमाण्ड एण्ड इन्टेलिजेन्स बेस (आइडीएफ सीफोरआई) र सोरोका अस्पताल आसपासमा रहेको गाभ–याम टेक्नोलोजी पार्कमा रहेको आर्मी इन्टेलिजेन्स क्याम्प थियो।"
इरानले क्षेप्यास्त्र प्रहारबाट भएको 'विस्फोटको लहर' का कारण अस्पतालमा असर परेको तर आक्रमणको 'प्रत्यक्ष र सटीक लक्ष्य' सैन्य सुविधा रहेको बताएको छ।
इरानको शक्तिशाली इस्लामिक रिभोल्युसनरी गार्ड कोरले पनि यस आक्रमणबारे एक वक्तव्य जारी गरेको छ। सरकारी टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा भनिएको छ, "यो आक्रमण अस्पताल नजिकै रहेको इजरायली प्रशासनको 'कमाण्ड एण्ड इन्टेलिजेन्स सेन्टर' लाई लक्षित गरिएको र क्षेप्यास्त्रको निशाना अत्यन्त सटिक र निर्देशित बनाइएको थियो।" सेनाले इजरायलको हवाई क्षेत्र रक्षाविहीन रहेको र त्यहाँ कुनै पनि सुरक्षित स्थान नहुने चेतावनी यसअघि नै दिएको पनि उल्लेख छ।
यस घटनाले मध्यपूर्वमा इरान र इजरायलबीचको तनाव थप बढेको देखाएको छ।