असदको पतनपछि २० लाखभन्दा बढी सिरियाली नागरिक फर्किए स्वदेश
हाम्रा कुरा
प्रकाशित २०८२ असार ६ शुक्रबार
1.7k
Shares
काठमाडौँ । सिरियामा बशर अल असदलाई सत्ताच्युत गरिएपछि युद्धका क्रममा आफ्नो देश छोडेर भागेका २० लाखभन्दा बढी सिरियाली नागरिक स्वदेश फर्किएका छन्। बिहीबार संयुक्त राष्ट्रसंघीय शरणार्थी नियोगका प्रमुख फिलिप्पो ग्रान्डीले यसको पुष्टि गरेका हुन्।
सन् २०११ मा असदले सरकारविरोधी प्रदर्शनमाथि गरेको निर्मम दमनपछि सुरु भएको सिरियाली गृहयुद्धले देशको आधा जनसंख्यालाई आन्तरिक वा बाह्य रूपमा विस्थापित गरेको थियो। तर, गत वर्षको डिसेम्बर ८ मा इस्लामिक शक्तिहरूको विद्रोहबाट असद सत्ताच्युत भएपछि विस्थापित नागरिकहरूको पुनरागमनको आशा जागेको छ।
ग्रान्डीले छिमेकी लेबनानको भ्रमणका क्रममा सामाजिक सञ्जाल एक्समा लेखे, "डिसेम्बरयता २० लाखभन्दा बढी सिरियाली शरणार्थी र विस्थापितहरू घर फर्केका छन्। बढ्दो क्षेत्रीय तनावका बीच यो आशाको संकेत हो।" उनले थपे, "हामीलाई अस्थिरता र विस्थापनको अर्को लहर होइन, राजनीतिक समाधान चाहिएको छ भन्ने यसले प्रमाणित गर्छ।"
चौध वर्ष लामो युद्धपछि फर्केका धेरै मानिसहरूले आफ्नो घर र सम्पत्ति नराम्ररी बिग्रिएको वा नष्ट भएको कठोर यथार्थको सामना गरिरहेका छन्। हालै सिरियामाथि पश्चिमा मुलुकले लगाएको प्रतिबन्ध हटेसँगै नयाँ अधिकारीहरूले पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरेका छन्। संयुक्त राष्ट्रसंघले सिरियाको पुनर्निर्माणका लागि ४०० अर्ब डलरभन्दा बढी खर्च लाग्ने अनुमान गरेको छ।
यसै महिनाको सुरुमा नियोगले सन् २०२५ को अन्त्यसम्ममा विदेशबाट १५ लाख सिरियाली र आन्तरिक रूपमा विस्थापित २० लाख व्यक्ति फर्कन सक्ने अनुमान गरेको थियो। यो ठूलो संख्यामा नागरिकहरूको फिर्तीले सिरियामा शान्ति र पुनर्निर्माणको नयाँ अध्याय सुरु हुने संकेत दिएको छ।