गीतजस्तै गाडी झन्डै १ सय २० को गतिमा थियो तर मलाई हाइले हल्का हानिरहेकोले मैले उनलाई बताइन । एकापट्टि कम्पारा दुख्न थालिसकेको थियो । हाइलाई पचाए पनि चिसोले पिनासेको थियो मलाई । त्यसको कारण सम्भवतः अघिल्लो साँझ सागामा कल्याणीलाई अस्पताल लैजाँदा मैले लगाएको पातलो ज्याकेट थियो ।
मानसरोवरको इन्ट्रि प्वाइन्ट पुगेपछि हामीले रसुवागढी सीमा नाकादेखि हाम्रो ठानेका हायस र ट्रक छोड्यौँ । चिनियाँ सरकारले व्यवस्था गरेका स्थानीय नीला दुई ठूला बस चढेर मानसरोवर परिक्रमा शुरू गर्यौंँ । मानसरोवर र कैलाश क्षेत्रको वातावरण र संस्कृति संरक्षणका निम्ति त्यस्तो प्रबन्ध गरिएको रे ।
मानसरोवर किनारको स्टेसनमा गाडी चढ्नुअघि बादलभित्रबाट कैलाशको टाउको फुत्त देखियो । अधिकांश यात्रीहरू फटाफट फोटो खिच्न थाले ।
‘हामी कति भाग्यमानी !’, कोही भन्दै थिए ।
‘साक्षात् शिवको दर्शन पाइयो । जीवन धन्य भयो’, कोही भन्दै थिए ।
‘लर्ड शिव, वी आर ब्लेस्ड’, कोही भन्दै थिए ।
यात्रीका अनुहारमा अचम्मको खुशी फुलिरहेको थियो । खुशी किन पनि फुलिरहेको थियो भने सागाबाट अलिकति मात्र अगाडि बढ्दा एकजना यात्रीले स्मार्टफोनले दिएको मौसमी भविष्यवाणी सुनाएका थिए, ‘लगातार तीन दिन मानसरोवर र कैलाश क्षेत्रमा कि त वर्षा हुन्छ कि बादल लाग्छ ।’ त्यसपछि यात्रीका अनुहारमा कैलाश दर्शनबारे आशंकाका रेखाहरू कुद्न थालेका थिए । तर, एक्कासि थोरै भए पनि कैलाशशिर देख्न पाउँदा सानोतिनो चमत्कारै भएजस्तो भएको थियो ।
बसले हामीलाई बोकेर मानसरोवर परिक्रमा शुरू ग¥यो । सरोवरको किनारैकिनार कच्ची बाटोमा आफू हल्लिँदै र हामीलाई पनि हल्लाउँदै बस कुदिरह्यो । सबैका आँखा कैलाशतिर थियो । घरी बादल अलिअलि फाट्थ्यो । घरी बादलले कैलाशलाई पूरै ढाक्थ्यो । हल्लिरहेको बसका झ्यालबाट हामी धमाधम जुम गर्दै बादलबीचको कैलाश (शिव) को फोटो खिचिरहेका थियौं । शिव महासेलीब्रेटी भएका थिए र हामी उनका डाइहार्ट फ्यान वा त्यसभन्दा पनि बढी । हामीले शिवको फोटो ननस्टप खिचिरह्यौं ।
म गलिसकेको थिएँ तर कैलाश र मानसरोवरले मलाई ढल्नबाट बचाइरहेको थियो । म झ्यालबाट तिब्बतको छातीमा फैलिएको शान्त मानसरोवर र बादलबीच उभिएको जादूमयी कैलाशको नखरा हेरेर आनन्द लिँदै थिएँ । झन्डै आधा घण्टापछि किनारमा गाडी रोकियो । सबैजनाले मानसरोवरसँग मित लाउन थाले । मानसरोवरको महादर्शन गरे ।
क्षितिजको कैलाशलाई साक्षी राखेर आकाश र आकाशजस्तै मानसरोवर ‘ऊँ नम शिवाय’ को ध्वनिले तरङ्गित भयो । पण्डितजीलगायत केही यात्रीले शंख फुके । मैले सानो बोतलमा मानसरोवरको जल भरेँ । बिर्काे टाइट गरेर बोतललाई ब्यागमा राखेँ । जलमात्र थिएन, त्यो मेरा लागि सिङ्गो मानसरोवर थियो । नौबिसे नकट्दै जिवेन्द्र दाइको फोन आएको थियो ।
‘के छ अशोक ? कहाँ छौ ?’
‘दाइ ! म नौबिसेनजिक आइपुगेको छु ।’
‘किन ?’
‘तिब्बत जाँदैछु ।’
‘किन ?’
‘मानसरोवर र कैलाश दर्शन गर्न ।’
‘ल शुभयात्रा ! अनि सुन त, मानसरोवरको पवित्र जल ल्याउन नबिर्सनु नि’, त्यति भनेर उनले फोन काटेका थिए ।
खासमा मलाई जिवेन्द्र दाइले किन फोन गरेका थिए, न मैले सोधेँ न त उनले नै भने । मानसरोवरको कुराले मात्र पनि अरू सबै कुरा बिर्साइदिँदो रहेछ भने म त त्यतिबेला मानसरोवर नै पुगेको थिएँ र ब्यागमा मानसरोवर हालिसकेको थिएँ ।
मैले पृथ्वीका धेरै–धेरै कुरा बिर्सें । मैले शरीरको सकसलाई पनि बिर्सें तर अमूर्त कैलाश आँखैमा थियो । कैलाश र मानसरोवर एकअर्कामा अन्योन्याश्रित रहेछन् ।
बस एक छिनका लागि रोकिए पनि यात्रीहरू मानसरोवरमा मग्न थिए । पवित्रतालाई कायम राख्न हो वा सरसफाइका दृष्टिले हो, त्यहाँ नुहाउन मनाही थियो तर उनीहरू मनले मस्त थिए । मनैले नुहाइरहेका थिए । दुवै बसका ड्राइभरले हर्न बजाइरहेका थिए ।
गाडीमा आउन यात्री तयार थिएनन् । दुवै ड्राइभरले ड्राइभिङ सिटमै बसेर चुरोट तान्न थाले । चुरोट तानुन्जेल यात्रीलाई राहत भयो । उनीहरूले कोरसमा ‘ओम नम शिवाय’ भने ।
एक छिन्मा सबैजना गाडीमा फर्के । सबैका हात विशेष भएका थिए । ती हातहरू मानसरोवरको जलले भिजेका थिए । त्यसपछि पनि हामी किनारैकिनार मानसरोवरकै चक्कर लगाइरहेका थियौं । बाटो विस्तारै उकालियो । हामी डाँडाको पुरानो गुम्बामा पुग्यौं ।
संस्कृत शब्द ‘मानस’ र ‘सरोवर’बाट बनेको मानसरोवरको अर्थ हुन्छ, मनको तलाउ । पौराणिक कथाअनुसार मानसरोवर सबैभन्दा पहिले ब्रह्माको मनमा उत्पन्न भएको हो । सतीदेवीको शरीरको दायाँ हात यहीँ पतन भएको थियो । त्यहाँ पाषणशीला छ, जसलाई शिवशक्तिस्वरूप मानेर पूजा गरिन्छ ।
बौद्ध, जैन र बोनपो धर्मावलम्बीका लागि पनि मानसरोवर र कैलाश पवित्र तीर्थस्थल हो । मानसरोवरको उत्तरमा कैलाश पर्वत र पश्चिममा राक्षस ताल छ ।
राक्षस तालबाट निःशृत हो, हाम्रो कर्णाली नदी । मानसरोवर र राक्षस तालबीचमा एउटा डाँडोमा आठौँ शताब्दीतिरै निर्मित छिउ (चिउ) गुम्बा रहेछ । किंवदन्तीअनुसार पद्मसम्भव (गुरु रिम्पोछे) ले त्यही गुम्बामा बसेर तन्त्र साधना गरी लद्दाखदेखि तिब्बत र भुटानसम्म बुद्ध धर्म प्रचार गरेका हुन् रे !’
हो, हामी त्यतिबेला ठ्याक्कै छिउ (चिउ) गुम्बा पुगेका थियौँ, जहाँ याकका सिङ्सहितका थुप्रै खप्परहरू थिए । बुद्धिस्ट झन्डाहरू फहराइरहेका थिए । जहाँ ढुङ्गामाथि क्रमशः साना ढुङ्गाहरू खप्ट्याइएका थिए ।
कस्सिएर ढुङ्गा फाले त्यहीँ पुग्लान् झैँ लाग्ने हिमश्रृंखला हामीलाई हेरेर हाँसिरहेका थिए । हामीहरूले फटाफट फोटो खिच्यौं । हावा बेस्सरी चलिरहेको थियो तर त्यो हावामा अक्सिजनको मात्रा निकै कम अनुभव हुन्थ्यो ।
त्यहाँबाट पूर्वपट्टि देउतालसमेत भनिने मानसरोवर र पश्चिमपट्टि देखिने राक्षसतालका आ–आफ्नै विशेषता रहेछन् । विश्वासअनुसार देउताल देव तपस्वीहरूको केन्द्र रहेछ भने राक्षसताल दानव तपस्वीहरूको केन्द्र । मलाई खै किन हो, मनै हर्ने पूर्णचन्द्राकार अर्थात् बाटुलो मानसरोवरको तुलनामा अर्धचन्द्र आकारको राक्षसताल झन् राम्रो लाग्यो ।
मानसरोवरको जल जीवनमैत्री छ रे तर राक्षसतालको पानी जीवनलायक छैन रे । खै कति सत्य हो ?
राक्षसतालको सबैभन्दा ट्रजेडी चाहिँ बीचबीचका ससाना टापुहरू रहेछन् । चिसो मौसममा तालको पानी हिउँ हुँदै बरफ बनेपछि पठारबाट बरफमाथि हिँड्दै अनेकौँ चारखुट्टे जीव ती टापुमा पुग्छन् रे । घाम लागेपछिको न्यानोले जब तालको बरफ पग्लेर पानी बन्छ तब ती प्राणी फर्कन सक्दैनन् । उनीहरू भोजनविहीन टापुमा भोकले छट्पटिँदै–छट्पटिँदै मर्छन् । ती टापुमा थुप्रै अस्थिपञ्जर छन् रे । कस्तो हृदयविदारक !
राक्षसताल र देउतालको बीचको त्यो उच्च चौरमा उभिएका हामी जो थियौं, रूपमा मानव थियौँ । तर, मैले दुईतिरका ताललाई हामीभित्रको असल र खराब प्रवृत्तिका साझा प्रतीक सम्झेँ । मैले आफैभित्र मानसरोवर पाएँ । मैले आफैभित्र राक्षसताल पाएँ । मनले मनलाई सोध्यो, ‘तिमीमा दानव बढी छ कि देउता ?’
सायद मभित्र दानव नै बढी रहेछ । त्यसैले मैले राक्षसताललाई बढी सुन्दर देखेँ । मैले अतीतका थुप्रै घटना सम्झें, जहाँ म देउता बन्ने कुरा त परै जावस, मानव पनि हुन सकेको थिइनँ । म दानव भएका मेरा अतीतका थुप्रै घटना छन् । म ती घटना यहाँ उल्लेख गर्दिनँ । तर, मलाई मेरा ती सब कर्तुत थाहा छन् । मलाई ती सब बद्मासीहरू थाहा छन् । झुट र नौटंकी थाहा छन् ।
अनि शुरू भयो फेरि बस यात्रा । (सिलवालको यो पुस्तक बजारमा छ)