काठमाडौँ । नेपालकी रेस्लर भगवती खड्काले पाकिस्तानको कराँचीमा भएको आरईडब्लु रेस्लिङको महिला एकलको उपाधि जितेकी छिन् ।
रेस्लिङमा युनिका उपनामले चिनिने भगवतीले पाकिस्तानकी बेगिसालाई पराजित गरिन् । भगवतीका अनुसार पाकिस्तानमा महिला रेस्लिङ पहिलोपटक भएको हो । २०६९ सालदेखि रेस्लिङ खेल्न थालेकी भगवतीले स्वदेश र विदेशमा गरी हालसम्म करिब ४० विदेशी खेलाडीसँग प्रतिस्पर्धा गरेकी छिन् ।
अधिकांश प्रतिस्पर्धामा भगवतीले प्रतिद्वन्द्वीलाई हराएकी छिन् । भगवतीले भारत र जापानमा खेलेकी थिइन् ।
कलाकारसमेत रहेकी भगवतीले ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे’ बोलको गीत पनि गाएकी थिइन् । आरईडब्लु रेस्लिङमा पुरुषका चार स्पर्धामा पनि प्रतिस्पर्धा भएको थियो । सबै प्रतिस्पर्धा पाकिस्तानी खेलाडीबीच भएको थियो ।
भगवतीको नाम वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा पनि समावेश गरिएको छ । भगवती आफैँ अध्यक्ष रहेको संस्था नेपाल महिला रेस्लिङ फाउन्डेसनले सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित पाँच हजार ६ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङ आयोजना गरेकोमा वल्र्ड बुक अफ रेकर्ड्स, लन्डनमा नाम समावेश गरिएको हो ।
गत जेठ १६ (मे २९) ‘एभरेष्ट डे’ का अवसरमा उक्त रेस्लिङ प्रतियोगिता भएको थियो । उक्त प्रतिस्पर्धामा भगवतीले अमेरिकी रेस्लर डानियल मोरिसन (डानी मो) लाई पराजित गरेकी थिइन् ।