काठमाडौँ । इजरायलले सोमबार दिउँसो इरानको राजधानी तेहरानमा रहेको इरानी सेनाको एकाइ इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का अखडाहरूमा आक्रमण गरेको छ । उक्त आक्रमणमा सयौँ सैनिकहरू मारिएको दाबी गरिएको छ ।
इजरायली सेनाले इभिन जेल, इजरायल विनाश घडी, आईआरजीसीको बासिज फोर्स मुख्यालय र तेहरानमा रहेको आन्तरिक सुरक्षा मुख्यालयलाई निशाना बनाएको बताएको छ ।
यसअघि इजरायलले इरानको फोर्डो आणविक स्थलमा आक्रमण गरेको थियो । इरानको तस्निम समाचार एजेन्सीले यो आक्रमण त्यही ठाउँमा गरिएको बताएको छ जहाँ अमेरिकाले आइतबार बस्टर बम खसालेको थियो ।
इजरायलले इरानका ६ विमानस्थलहरू - मशहद, तेहरान, हमादान, डेजफुल, शाहिद बख्तियारी र तब्रिजमा पनि ड्रोन आक्रमण गरेको छ। यसमा इरानका १५ लडाकु विमान र हेलिकप्टरहरू ध्वस्त पारिएको दाबी गरिएको छ।
यसैबीच इरानका उपविदेशमन्त्री मजिद तख्त रवान्चीले इरानले आफ्नो आणविक कार्यक्रम बन्द नगर्ने बताएका छन् । इरानको सैन्य केन्द्रीय कमाण्डका प्रवक्ता इब्राहिम जोल्फाघारीले भने, 'जुवाडे ट्रम्प, तिमीले युद्ध सुरु गरेका छौ, तर हामी यसलाई अन्त्य गर्नेछौँ ।'
यता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा विद्रोहको संकेत गरेका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, 'यदि वर्तमान इरानी सरकारले 'इरानलाई फेरि महान्' बनाउन सक्दैन भने किन सत्ता परिवर्तन हुनु हुँदैन ? इरानलाई फेरि महान् बनाउनुहोस् ।'
अमेरिकाले हिजो इरानको फोर्डो, नातान्ज र इस्फहान आणविक अड्डाहरूमा आक्रमण गरेर युद्धमा प्रवेश गरेको थियो। इरानमाथि अमेरिकी कारबाहीमा ७ बी-२ स्टिल्थ बमवर्षकहरू प्रयोग गरिएको थियो, जसले इरानको फोर्डो र नातान्ज आणविक स्थलहरूमा १३,६०८ किलोग्राम बंकर बस्टर बम खसालेको थियो।