जापानको सत्तारुढ दल एलडीपीलाई टोकियो निर्वाचनमा धक्का
प्रधानमन्त्री इशिबा र एलडीपीको घट्दो जनसमर्थन
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
1.4k
Shares
टोकियो। जापानको राजधानी टोकियोमा आइतबार सम्पन्न नगर सभा निर्वाचनको मत परिणामले सत्ताधारी लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) लाई नगर सभाको सबैभन्दा ठूलो समूहको हैसियतबाट पछि धकेलिदिएको छ। सन् १९५५ देखि लगातार देशको नेतृत्व गर्दै आएको एलडीपीका लागि यो प्रमुख स्थानीय निर्वाचनमा निकै कमजोर प्रदर्शन भएको जापानी सञ्चारमाध्यमले जनाएका छन्।
अक्टोबरमा पदभार ग्रहण गरेका प्रधानमन्त्री इशिबाका लागि सार्वजनिक समर्थनमा महिनौँदेखि व्यापक गिरावट आएको छ। उच्च मुद्रास्फीति, विशेषगरी गत वर्षको तुलनामा चामलको मूल्य दोब्बर हुनुजस्ता कारणले मतदाताहरूमा असन्तुष्टि बढेको देखिएको छ।
आइतबारको मतदानमा एलडीपीले टोकियो विधानसभाका २१ सिट मात्र जितेको छ। यसअघि तीन सिट पार्टीसँग सम्बन्धित उम्मेदवारले जिते पनि राजनीतिक चन्दा प्रकरणपछि उनीहरूलाई आधिकारिक रूपमा अनुमोदन गरिएको थिएन। असाही शिम्बुन र अन्य स्थानीय सञ्चारमाध्यमका अनुसार, यो नतिजा सन् २०१७ को तुलनामा पार्टीको २३ सिटको रेकर्ड तोड्दै खराब प्रदर्शन हो।
टोकियोका गभर्नर युरिको कोइकेले स्थापना गरेको टोमिन फस्र्ट नो काईले १२७ सदस्यीय विधानसभामा आफ्नो सिट बढाएर ३१ पुर्याएको छ।
एलडीपीको टोकियो शाखाका प्रमुख शिन्जी इनोउले मतदानपछिको सर्वेक्षणले पार्टीको सिट घट्दै गएको देखाएपछि आइतबार भनेका थिए, "यो निकै कठिन चुनाव थियो।" उनले निर्वाचनलाई प्रभावित पार्न राज्यकोषबाट रकमको हिनामिना (फन्डिङ स्क्यान्डल) गरिएको प्रकरणले परिणामलाई ‘प्रभावित’ गरेको हुन सक्ने बताए। इनोउले मुद्रास्फीतिलाई सम्बोधन गर्ने सरकारको नीति ‘मतदातासम्म’ राम्रोसँग पुर्याउन नसक्नु र विपक्षी दलले मुद्रास्फीतिलाई सम्बोधन गर्ने भनी गरेको व्यापक प्रचारप्रसारले एलडीपीले अपेक्षा गरेको मतपरिणामभन्दा फरक वातावरण देखिएको उल्लेख गरे।
बढ्दो महँगी र राजनीतिक घोटालाबाट आक्रोशित मतदाताहरूले अक्टोबरमा इशिबाको एलडीपी र यसको कनिष्ठ गठबन्धन साझेदारलाई शक्तिशाली तल्लो सदनमा बहुमतबाट वञ्चित गरेका थिए। यो विगत १५ वर्षमा एलडीपीको सबैभन्दा खराब आम चुनाव परिणाम हो।
केही हप्ताभित्रै प्रधानमन्त्री इशिबाले संसदको माथिल्लो सदनका लागि चुनावको सामना गर्नुपर्नेछ, र जुलाई २० मा राष्ट्रिय मतदान हुन सक्ने बताइएको छ। धानको मूल्यलाई उच्च सम्बोधन गर्ने नीतिका कारण यस महिना गरिएको सर्वेक्षणमा इशिबाको समर्थनमा केही वृद्धि भएको देखिएको छ।
जापानी पसलहरूमा हालसालै चामलको अभाव हुनुका पछाडि दुई वर्ष पहिले अत्यधिक तातो र सुख्खा गर्मीले देशव्यापी रूपमा फसललाई क्षति पुर्याएको, गत वर्ष ‘महा–भूकम्प’ चेतावनीपछि चामल खरिद आतङ्कले गर्दा र पछिल्लो समय केही व्यापारीले नाफा बढाउनका लागि चामल मौज्दात राख्ने गरेको विज्ञहरू बताउँछन्। जापानमा ताजा खाद्य पदार्थ, अन्य सामान र ऊर्जा क्षेत्रका शीर्षक समावेश नगरिएको मूल्य वृद्धिदर अघिल्लो वर्षको तुलनामा मे महिनामा ३.७ प्रतिशतले बढी रहेको थियो।
इशिबाले माथिल्लो सदनको चुनावअघि प्रत्येक नागरिकका लागि २० हजार येन (१३९ अमेरिकी डलर) नगद सहयोग गर्ने घोषणा गर्नुभएको छ।
वासेदा युनिभर्सिटीका राजनीतिकर्मी मासाहिसा एन्डोले टोकियो विधानसभाको नतिजा सत्तारुढ दलका लागि गम्भीर भएको बताएका छन्। "टोकियो एलडीपीको बलियो गढ होइन, तर नतिजाबाट यसको समर्थन देशभरि कमजोर भइरहेको छ भन्ने निष्कर्ष निकाल्नु सम्भव छ," एन्डोले एएफपीसँग भने, "जापानका विपक्षी पार्टीहरू एलडीपीको शक्तिलाई विश्वसनीय चुनौती दिने सम्बन्धमा विभाजित छन्।"
यद्यपि, विपक्षी ‘डेमोक्र्याटिक पार्टी फर द पिपुल (डीपीपी)’ ले टोकियो विधानसभाको मतदानमा पहिलो पटक नौ सिट जितेको छ। जुलाईको चुनावका लागि डीपीपीको चुनावी प्रतिबद्धतामा परिवारको आय बढाउन बिक्री कर कटौती गर्ने उल्लेख छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार, आइतबारको मतदान दर ४७.६ प्रतिशत रहेको छ, जुन चार वर्षअघिको ४२.४ प्रतिशतभन्दा बढी हो। सन् १९९७ यताकै सबैभन्दा बढी २९५ जना उम्मेदवारले प्रतिस्पर्धामा उत्रिएको टोकियोको विधान सभा निर्वाचनमा ९९ जना महिला उम्मेदवार पनि थिए। निर्वाचित महिला विधानसभा सदस्यको सङ्ख्या ४१ बाट बढेर ४५ पुगेको छ।
एलडीपीको यो कमजोर प्रदर्शनले आगामी राष्ट्रिय चुनावमा कस्तो प्रभाव पार्ला भन्ने विषय महत्त्वपूर्ण बनेको छ।