arrow

भरतपुरमा तीन महिनाका लागि रोकियो भूमिगत विद्युतीकरणको काम

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १० मंगलबार
electricity-pole-wire-81-7-.jpg

चितवन। भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम तीन महिनाका लागि रोकिएको छ। सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने भएपछि असार ३ गतेदेखि भदौ मसान्तसम्मका लागि काम स्थगन गरिएको हो।

नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले यो काम गरिरहेको छ। आयोजना प्रमुख इञ्जिनियर आनन्द सुवेदीका अनुसार, मुख्यतया पाइप गाड्ने, पाइप हाल्ने र खाल्डा खन्नेजस्ता कामहरू रोकिएका छन्। सडक विभागले वर्षात्मा खाल्डाखुल्डी खन्दा सडकको गुणस्तर बिग्रने र पानी पसेर सडक भासिनेजस्ता समस्या आउन सक्ने भएकाले काममा रोक लगाएको उनले बताए।

यद्यपि, पाइप गाडिसकिएका ठाउँमा केवल जोड्ने र पोल गाड्नेजस्ता काम भने जारी रहेको सुवेदीले जानकारी दिए।

आयोजनाले हालसम्म भरतपुरमा विद्युत् भूमिगत गर्ने काम ७५ प्रतिशत सम्पन्न गरिसकेको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पुलचोकबाट केन्द्रीय बस टर्मिनलसम्मको सडकमा भूमिगत काम सकिएको छ। बाइपास सडकमा आँपटारीबाट केन्द्रीय बस टर्मिनलसम्मको सडकमा एकतर्फी भूमिगत काम सम्पन्न भएको छ भने अर्कोतर्फको काम बाँकी नै छ। ३३ केभी जडानको काम सकिएको छ भने ११ केभी र ४०० भोल्टको केवल राख्ने काम जारी छ।

सुवेदीका अनुसार, खाल्डा खन्ने क्रममा पानी आउने भएकाले वर्षातपछि कामलाई तीव्र बनाइनेछ। भरतपुर महानगरभित्र विद्युतीय तार भूमिगत गर्न कुल १ अर्ब ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ। सुरुवाती बजेट १ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको थियो।

यो परियोजनाको निर्माण ठेक्का भारतको टाटा प्रोजेक्ट लिमिटेडले लिएको छ। ठेक्का सम्झौताअनुसार पहिलो चरणको समय सन् २०२४ को जनवरी २० मा सकिएपछि पुनः आठ महिनाका लागि समय थप गरी काम अघि बढाइएको छ। यो आयोजना एसियाली विकास बैंकको सहयोगमा प्राधिकरणले अघि बढाएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ