‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ नारासहित राष्ट्रिय धान दिवस मनाइँदै
हाम्रा कुरा
प्रकाशित २०८२ असार १२ बिहिबार
764
Shares
काठमाडौँ। सरकारले यस वर्षको राष्ट्रिय धान दिवसका लागि ‘धान बालीमा सघनता: खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने नारा तय गरेको छ। खाद्य सुरक्षाका लागि धानको उत्पादन वृद्धि गर्न यो नारा तय गरिएको हो। कृषि विभागले २२औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउने क्रममा यही असार १५ गते विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ।
विभागले खुमलटारमा रोपाइँ, कृषकलाई सम्मान, रैथाने बालीको संरक्षण, प्रविधिको प्रचारप्रसार, र जलवायु परिवर्तनका कारण धान क्षेत्रमा परेको असर न्यूनीकरणका लागि विज्ञसँग अन्तर्क्रिया कार्यक्रमको तयारी गरेको छ। यी कार्यक्रमहरू जलवायु अनुकूलित प्रविधिको अनुसन्धान तथा धानको उत्पादन वृद्धिमा केन्द्रित हुनेछन्।
कृषि विभागका महानिर्देशक प्रकाश सञ्जेलले धान उत्पादन र उत्पादकत्व बढाउन तथा खाद्य सुरक्षामा किसानलाई जागरूक बनाउने योजना रहेको जानकारी दिए। धान नेपालको प्रमुख खाद्यान्न बाली हो, जसले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक र धार्मिक परम्परामा समेत महत्त्वपूर्ण स्थान राख्छ।
महानिर्देशक सञ्जेलले धानको विविध महत्त्वलाई दृष्टिगत गरी यसको उत्पादन वृद्धि, आधुनिकीकरण र व्यवसायीकरणलाई प्रवर्द्धन गर्ने उद्देश्यले विसं २०६१ असार १५ गतेदेखि प्रत्येक वर्ष राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै आएको बताए।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीले दिएको जानकारीअनुसार, आर्थिक वर्ष २०८०/८१ मा ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो। आर्थिक वर्ष २०८१/८२ मा धानको उत्पादन बढेर ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन पुगेको छ।
आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टरमा धान रोपिएकोमा आव २०८१/८२ मा १४ लाख २० हजार ६३६ हेक्टरमा रोपाइँ भएको थियो। धान बाली लगाइएको क्षेत्रफलमा सामान्य कमी आउँदा पनि उत्पादकत्वमा आएको सकारात्मक वृद्धिले धानको कुल उत्पादन बढेको जोशीले बताए। रासायनिक मल, उन्नत जातको बीउ र समयमा वर्षा हुँदा धान उत्पादन बढेको जनाइएको छ।
यो वृद्धिले नेपालको खाद्य सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छन्।