चुनावी चटारो सकिएपछि किसान लागे चैते धान रोप्न [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८२ फागुन २८ बिहिबार
714
Shares
सप्तरी । चुनावको चटारो सकिएको छ । देशैभरको मत परिणाम पनि सार्वजनिक भइसकेको छ । भोट मागेर जितेकाहरू संसद भवन पस्न नपाउँदै भोटदाता किसानहरू भने आफ्नो पेशामा फर्किसकेका छन् ।
अबको सरकारले किसानको लागि समयमा मलखाद, सिँचाइ, विद्युतलगायत सामान्य माग पूरा गरिदिने आशा राख्दै चैते धान रोप्न खेततिर पसेका छन् ।
यतिबेला सप्तरीका किसान चैते धान रोपाइँका लागि आफ्नो खेततिर लागेका हुन् । चैते धान फागुन महिनामा बिउ छर्ने, चैतको शुरूमा रोप्ने र जेठ १५ देखि भित्राउन शुरू गरिन्छ ।
८० देखि ९० दिनको छोटो समयमा यो धान उत्पादन भए पनि मङ्सिरमा उत्पादन हुने धान भन्दा दोब्बर उत्पादन हुँदै आएको किसानहरूको भनाइ छ ।
चैते धान छोटो समयमा दोब्बर उत्पादन भए पनि खर्चिलो भएको स्थानीय किसानले जानकारी दिए ।बिउ उखेल्नु, खेत जोत्नु, रोप्नु, घाँस उखेल्नुभन्दा महँगो सिँचाइमा लाग्ने गरेको उनीहरूले बताए ।
बिजुलीले बोरिङबाट सिँचाइ गर्यो भने कट्ठाको दुई सय र डिजल माध्यमले सिँचाइ गर्यो भने तीन सय लाग्ने उनीहरूले बताए । सुख्खा समय भएकोले ४ दिनको फरकमा सिँचाइ गर्नुपर्ने हुन्छ । जसको कारण पनि खर्च धेरै लाग्ने गरेको छ । किसानलाई सिँचाइको व्यवस्था राम्रो हुन पर्ने र निःशुल्क व्यवस्था मिलाउनु पर्ने उनीहरुको माग छ ।
सप्तरीको १८ वटा पालिकामध्ये विष्णुपुर गाउँपालिका छिन्नमस्ता गाउँपालिका, राजगढ गाउँपलिका तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका, रूपनी गाउँपालिका, हनुमाननगर कङ्कालिनी नगरपालिका, बोदेबरसाइन नगरपालिका, खडक नगरपालिका र शम्भुनाथ नगरपालिका सहितका स्थानमा यसपालि जिल्लामा २ हजार ५ सय हेक्टर जग्गामा चैते धान लगाउँदै आएको कृषि ज्ञान केन्द्र सप्तरीले जनाएको छ।