डर नखोलिएको युद्धविरामपछिको इजरायल: शंका, अनुभव र आशा
खेमराज जम्मरकट्टेल,
प्रकाशित २०८२ असार १२ बिहिबार
1k
Shares
इजरायल र इरानबीचको ११ दिन लामो शक्ति संघर्षको तनाव अन्ततः युद्धविराममा टुंगिएको छ। बाहिरी रुपमा व्याख्या गरिए जस्तो यो केवल सैन्य द्वन्द्व मात्र थिएन ; समाज, मनोविज्ञान र जीवनशैलीमा समेत गहिरो धक्का पुर्याउने एउटा अध्याय पनि थियो तर अहिलेको अवस्था बताउँछ देश विस्तारै फेरि शान्ति र नियमित दिनचर्यातर्फ फर्किन थालेको छ । जहाँ केही आशंकाहरू छ्न् साथै गहिरो अनुभव र आशा पनि ।
सुरक्षा संयन्त्रले पछिल्लो सूचनामा सबै प्रकारका बन्द सञ्जाललाई खुला गर्ने घोषणा गरिसकेको छ । विद्यालय, सभा–समारोह, बजार, सुपरमार्केट र अन्तर्राष्ट्रिय उडानसमेत खुल्ने जनाएको अवस्था छ ।
‘बेन गुरियन’ विमानस्थलमा चहलपहल सुरु भएको छ । यी संकेतहरूले देखाउँछ कि इजरायल अब संकटको तरङ्गबाट बाहिर निस्कँदैछ र पुनः एकपटक युद्ध ग्रस्त मानसिकताको जीवनले आफ्नो लय खोज्न थालेको छ।
तर यो ११ दिन सम्मको अनुभव र अनुभूतिलाई शब्दले मात्र व्यक्त गर्न सकिँदैन। विशेषगरी हामीजस्ता हजारौँ विदेशी कामदारहरूका लागि यो अवधि केवल डर र अन्योलले भरिएको थिएन; यो जीवनसँगको गहिरो द्वन्द्व पनि थियो ।
दुई देशबीचको द्वन्द्व युद्धमा परिणत हुँदा साइरन बज्नेबित्तिकै काम रोकेर बंकरतिर दौडनु, कामको अनिश्चितता र नेपालमा बसेका परिवारको चिन्ता यी सबैले मनभित्र तनावको आँधीबेहरी नै ल्याएको थियो । त्यो आँधी अब केही थामिएको अनुभूति भएको छ । जीवनमा नयाँ आशा जागेको छ ।
सरकार र कम्पनीहरूले दिएको सन्देशले भन्छ अब ढुक्क भएर काम गर्न सकिन्छ । खासगरी सुरक्षा प्राथमिकतामा राख्दै काम रोक्ने, सुरक्षित स्थानमा कामदारलाई राख्ने, नियमित सल्लाह दिने कार्यले ‘संकटकालमा मानवीयता’ भन्ने कुरा एकपटक फेरि बुझिएको छ ।
यस युद्धमा इजरायलले केवल मिसाइल रोक्न मात्र हैन उसले आफ्नो रणनीतिक सोच, प्रविधि र अन्तर्राष्ट्रिय सम्बन्धको सन्तुलित प्रयोगमार्फत आफ्नो अस्तित्व जोगाउन सफल रह्यो । ड्रोन र आयरन डोमजस्ता प्रणालीको प्रभावकारी उपयोगले संसारभरि एउटा सन्देश प्रेषित गर्यो । इजरायल अब केवल हतियारकै भरमा नभई योजनामा पनि धेरै अगाडि बढिसकेको प्रमाण अहिलेको युद्धको अनुभवले दिलाएको छ ।
शान्तिको यो क्षण स्थायी हो भन्ने सुनिश्चितता अझै पनि बनिसकेको छैन ।
इरान र उसका सहयोगी गुटहरू अझै ‘छायाँ’मा छन् । त्यसैले अबको चुनौती केवल बाह्य खतरा होइन आन्तरिक एकता, दीर्घकालीन शान्ति र समाजभित्रको पुनःसंयोजन पनि हो ।
युद्ध सकिन्छ तर युद्धले मनमा छाडेका चोटहरु भने तुरुन्तै मेटिँदैनन् । बालबालिका, वृद्धवृद्धा र संवेदनशील मन भएका मानिसहरू अझै राति चकित भएर उठ्छन् साइरन सुनिन्छ कि भनेर । विद्यालयहरु खुले पनि डर खोलिएको छैन । त्यही भएर मानसिक स्वास्थ्य अबको मुख्य प्राथमिकता बन्नु पर्ने अवस्था आएको छ।
हाम्रो जस्तो देश नेपाल जहाँ विभिन्न धर्म, जात, भाषा र राष्ट्रियता भएका मानिसहरू बस्छन्, त्यहाँ सहिष्णुता र आपसी विश्वास अति जरुरी हुन्छ। संकटले सिकाउँछ—आफूभन्दा भिन्नलाई बुझ्ने अभ्यास गर्नु। त्यसैले यो समय हो शान्तिका बीजहरू रोप्ने। दीर्घकालीन नीति त्यहीँबाट निर्माण होस्, जसले भविष्यमा यस्तो अवस्थालाई दोहोरिन नदियोस् ।
हामी विदेशी कामदारका लागि विशेषतः नेपालीहरूका लागि यो केवल युद्ध थिएन। यो जीवनको नांगो यथार्थ थियो। जसले सिकायो पसिना मात्रै होइन जीवन पनि महत्त्वपूर्ण हुन्छ। अनि सिकायो संकटकालमा पनि मानवीयता हराउँदैन। यसबाट प्रेरणा लिएर हामी फेरि उठ्न सक्छौं, काम गर्न सक्छौं, बाँच्न सक्छौं ।
पुनः युद्धको भविष्य कस्तो बन्छ भन्ने कुरा समयसँगै खुल्नेछ। तर हाललाई इजरायल फेरि खुलेर बाँच्न थालिसकेको छ । यो केवल युद्धविरामको क्षण होइन शान्तिको पुन: शुरूआत हो।
त्यसैले यो अवसर गुम्न नदिऊँ। युद्ध फेरि नदोहोरोस् र इजरायल फेरि एउटा उदाहरण बन्नेछ संकटलाई जितेर अघि बढ्ने राष्ट्रको रूपमा संसारभर । (जम्मरकट्टेल हाल इजरायलको तेल अभिभमा छन्, नेपालमा झापाका उनी झापाली समाज इजरायलका संस्थापक तथा वरिष्ठ -सल्लाहकारसमेत हुन्)