व्यवस्था ठीक छ, अब नेताहरूको आचरण ठीक हुनुपर्यो : डा. शशाङ्क कोइराला
हाम्रा कुरा
प्रकाशित २०८२ असार १३ शुक्रबार
664
Shares
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वमहामन्त्री तथा नवलपरासी पूर्व निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्य डा. शशाङ्क कोइरालाले नेपालमा अहिलेको राजनीतिक व्यवस्था ठीक भए पनि कार्यान्वयन तहमा रहेका व्यक्ति अर्थात् नेताहरूको आचरण ठीक नभएकाले समस्या देखिएको बताएका छन्। उनले देशको समसामयिक राजनीति, संविधान कार्यान्वयन, आर्थिक विकास र सुशासनलगायतका विषयमा आफ्ना धारणा राखे।
संसदीय अभ्यास र प्रतिपक्षको भूमिका
अहिले संसद् चलिरहेको र आर्थिक वर्ष २०८२/८३ को बजेट भर्खरै पास भएको सन्दर्भमा डा. कोइरालाले संसदीय अभ्यासमा सन्तुलन हुनुपर्नेमा जोड दिए। उनले भने, "प्रजातन्त्रमा सन्तुलन हुनुपर्छ। एउटा सत्ता पक्षीय पार्टी हुन्छ, अर्को प्रतिपक्ष। प्रतिपक्षी पार्टीले सतर्क गर्ने काम गर्छ। सत्ता पक्षीय पार्टीले प्रतिपक्षलाई प्रश्न गर्ने ठाउँ दिनुपर्छ।" उनले शक्तिशाली सरकारले प्रतिपक्षको कुरालाई बेवास्ता गर्न नहुने र लोकतन्त्रका लागि यो राम्रो नभएको बताए।
संविधान कार्यान्वयन र संशोधन
संविधान कार्यान्वयनको अवस्थाबारे बोल्दै डा. कोइरालाले नेपालले राष्ट्रलाई विकेन्द्रीकरण गरेर सात प्रदेश बनाए पनि शासन अहिले पनि केन्द्रीकृत नै रहेको गुनासो गरे। उनले प्रदेशलाई के चाहिन्छ भन्ने कुरा प्रदेशले नै निर्णय गर्न पाउनुपर्ने र सङ्घले त्यसमा हस्तक्षेप गर्न नहुने बताए। सङ्घीयतामा आर्थिक भार परेको भन्ने कुरामा, उनले खर्च प्रदेशलाई नै दिनुपर्ने तर्क गरे किनकि प्रदेशलाई कहाँ खर्च गर्ने भन्ने थाहा हुने बताए।
संविधान संशोधनबारे उनको धारणा थियो कि हरेक दश वर्षमा संविधानको 'रिभ्यु' हुनुपर्छ, तर कुन विषयमा संशोधन गर्ने हो, त्यसको आधार तय गरेर मात्र छलफल हुनुपर्छ। "सन् १७८५ मा अमेरिकामा ५५ जनाले चार महिनामा लेखेको संविधान हो। आजसम्म त्यही संविधान छ। सन् १९८५ तिर एक चोटी मात्रै संशोधन भएको छ," भन्दै उनले नेपालमा पनि दूरदृष्टि राखेर काम गर्नुपर्ने र अहिले नै संविधान संशोधन गर्नुभन्दा कार्यान्वयनमा जोड दिनुपर्ने बताए।
सुशासनका लागि नैतिक विवेकको आवश्यकता
देशमा सुशासनबारे उठेका प्रश्न सम्बोधन गर्न मानिसलाई विवेकशील बनाउनुपर्ने डा. कोइरालाको भनाइ छ। उनले भ्रष्टाचारलाई नैतिक पतनका रूपमा परिभाषित गर्दै भने, "भ्रष्टाचार विवेक नभएको मानिसले मात्रै गर्छ। त्यसकारण सुशासनका लागि मानिसमा विवेक हुनुपर्छ। यही मानिसमा नैतिकता र विवेक हुने हो भने सुशासन यतिकै कायम हुन्छ।" भ्रष्टाचार पूर्णरुपमा निर्मूल गर्न नसकिए पनि न्यूनीकरण गर्न सकिने र त्यसका लागि कानुनको कार्यान्वयन तथा नेता इमान्दार र पारदर्शी हुनुपर्ने उनको सुझाव छ।
राजतन्त्र र जनताको असन्तुष्टि
राजतन्त्रबारे कोइरालाले वीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले पनि राजालाई मान्ने गरेको इतिहास स्मरण गराए। तर, तत्कालीन राजा ज्ञानेन्द्र शाहले सबै हड्पिसकेपछि राजतन्त्रको ठाउँ नरहेको र अब राजा कसरी ल्याउने भन्ने प्रश्न उठाए।
राजनीतिक दलका नेता तथा कार्यकर्ताप्रति जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्न उनले व्यवस्था नराम्रो नभएको तर कार्यान्वयन तहमा रहेका व्यक्ति ठीक नभएको बताए। "कुनै पनि व्यवस्था आफैमा बेठीक हुँदैन। व्यवस्थामाथि शासन गर्ने व्यक्तिले व्यवस्थालाई असफल बनाउने हो। प्रणाली (सिस्टम) मा त्रुटि छैन। नेपालका लागि सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था नै उत्तम हो," उनले भने।
आर्थिक समृद्धिका लागि कृषि र ऊर्जाको महत्त्व
देशलाई आर्थिक रूपमा सम्पन्न बनाउन नेपालसँग भएका सम्भावनाहरूको पहिचान गर्नुपर्ने डा. कोइरालाले बताए। उनले कृषि, ऊर्जा र पर्यटन लाई देशको आर्थिक मेरुदण्डका रूपमा उल्लेख गरे।
कृषिमा १७ लाख हेक्टर खेतियोग्य जमिनले ३० करोड जनतालाई खान पुग्ने सम्भावना रहेको भन्दै उनले कृषकलाई कहिले पनि प्राथमिकतामा नराखिएको स्वीकार गरे। कृषिमा बजेट ४ प्रतिशतबाट २० प्रतिशत पुगेको सकारात्मक पक्ष औँल्याउँदै, कृषिमा वैज्ञानिक विधि अपनाउनुपर्ने र आधुनिकिकरण गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले बर्दियामा ५ हजार मानिस बस्न मिल्ने कृषि विश्वविद्यालय बनाएर ज्ञानसहितको शिक्षा दिनुपर्ने र रासायनिक मलको सट्टा अर्गानिक मल उत्पादनमा जोड दिनुपर्ने बताए।
जनतालाई सन्देश
अन्त्यमा, डा. कोइरालाले जनतालाई नेपालको भविष्य अत्यन्त राम्रो रहेको र देश सम्भावनाले भरिएको बताए। विदेशमा ४० डिग्रीको तापक्रममा काम गर्नुभन्दा त्यति नै मेहनतमा नेपालमै धेरै कमाउन सकिने उनको भनाइ छ। उनले जनताको अवस्था परिवर्तनका लागि सही नेतृत्व छान्नुपर्ने र नेताको आचरण परिवर्तन भए पुग्ने बताए। "नेताहरु नै भ्रष्ट भए भने के हुन्छ? अनि व्यवस्थालाई दोष दिएर हुन्छ?" भन्दै उनले आफ्नो सन्देश टुङ्ग्याए।