arrow

सक्रिय राजनीतिमा फर्किएको विद्याको घोषणा

सक्रिय राजनीतिमा फर्किइन् विद्या, भनिन्- 'राजनीतिमा थकाइ हुँदैन'[भिडियो]

सुखी जनता र समृद्ध नेपालको दायित्व पूरा गर्न राजनीतिमा फर्किएकी छु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार १४ शनिबार
bidhyadevis.jpg

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउने दायित्व अझै पूरा नभएकाले त्यसका लागि आफू पुनः अग्रसर भएको बताएकी छन्। शनिबार काठमाडौंमा जननेता मदनकुमार भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा आयोजित 'जबजका तीन दशक' विषयक राष्ट्रिय गोष्ठीलाई सम्बोधन गर्दै उनले यो घोषणा गरेकी हुन्।

सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरी जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा नभएको आफूलाई लागेको भण्डारीले बताइन्। उनले भनिन्, "यस गहन दायित्वलाई सबैले बहन गर्न अग्रसर हुनैपर्दछ।"

फरक किसिमको राजनीतिक जिम्मेवारीबाट (राष्ट्रपतिको भूमिकाबाट) मुक्त भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ आफूले पार्टी सदस्यता नवीकरण गरेको उनले स्पष्ट पारिन्। आफू अब नेकपा एमाले परिवारको एक सदस्यका रूपमा पुनः जोडिएकोमा गर्व महसुस गरेको उनले जिकिर गरिन्।

भण्डारीले आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको र देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य भएको बताइन्। उनले जननेता मदन भण्डारीको भनाइ उद्धृत गर्दै 'राजनीतिमा थकाइ भन्ने शब्दावली नरहने' कुरा स्मरण गराइन्।

"मेरो यस किसिमको छलफलका आधारमा निस्केको निचोड भनेको सामाजिक न्याय र समानतामा आधारित समाजवाद निर्माण गरेर जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनुपर्ने दायित्व अझै पूरा भएको छैन भन्ने नै हो," उनले भनिन्, "जनताको छोरीको रूपमा मैले सोही बेलादेखि नै आफ्नो सम्पूर्ण जीवन राष्ट्रलाई दिनेछु भन्ने सङ्कल्प गरिसकेको थिएँ।"

पूर्वराष्ट्रपति भण्डारीले आफ्नो राजनीतिक यात्रामा उतारचढावले धेरै कुरा सिकाएको, बुझाएको र थप परिपक्व बनाएको अनुभव सुनाइन्। उनले समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात् गरेर संयमतापूर्वक अग्रसर हुनुपर्नेमा जोड दिँदै सदाझैँ सबैको माया र विश्वास पाइरहने विश्वास पनि व्यक्त गरिन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ