लेखा समितिले महालेखाका प्रतिवेदनमाथि कार्यतालिका बनाएर छलफल गर्ने
हाम्रा कुरा
प्रकाशित २०८२ असार १५ आइतबार
510
Shares
काठमाडौं।सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले महालेखा परीक्षक कार्यालयका वार्षिक प्रतिवेदनहरूमाथि अब कार्यतालिका नै बनाएर समितिमा छलफल चलाउने बताएका छन्। महालेखा परीक्षक कार्यालयको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो जानकारी दिएका हुन्।
सभापति पोखरेलले विगतका केही वार्षिक प्रतिवेदनमाथि लेखा समितिमा छलफल हुन ढिलाइ हुँदा एकातर्फ सान्दर्भिकता हराएको र अर्कोतर्फ समय तथा मेहनत खेर गएको बताए। उनका अनुसार, समयमै छलफल नहुँदा समान प्रकृतिका विषयहरू बारम्बार उठान भइरहेको र त्यस्ता विषयप्रति सम्बन्धित पदाधिकारी तथा कर्मचारीहरूले चासो नदिने प्रवृत्ति बढेको छ। यसैलाई मध्यनजर गर्दै समितिले आगामी दिनमा कार्यतालिका तयार गरी छलफललाई व्यवस्थित र नियमित बनाउनेछ।
पोखरेलले भने, "लेखा समितिको प्रयासले मात्रै बेरुजु फछ्र्योट नहुने हुँदा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐनको मर्मअनुसार सोही वर्षभित्र नै बेरुजु फछ्र्योट टुङ्ग्याउने गरी निकाय तथा कार्यालयहरूले समेत कार्यसम्पादन गर्नुपर्दछ।"
पोखरेलले लेखा परीक्षणमा संलग्नहरूको इमानदारी र नैतिकताले उच्च महत्त्व राख्ने बताए। उनले लेखा परीक्षणको गुणस्तरमा सुधार गर्न लेखा परीक्षकहरूले आफ्नो स्वतन्त्रता, निष्ठा, विश्वसनीयता, व्यावसायिकता र मूल्यमान्यतामा आँच आउन दिन नहुनेमा जोड दिए।
उनका अनुसार, लेखा परीक्षकहरूले सार्वजनिक प्रशासनमा रहेका विकृति र समस्याहरू हटाउन कार्यान्वयन योग्य सुझावहरू दिनुपर्छ। लेखा समिति र महालेखा परीक्षक कार्यालयबीचको सहकार्यलाई निरन्तरता दिँदै लेखा परीक्षणलाई गुणस्तरीय बनाई यसको प्रभावकारिता अभिवृद्धि गर्न आगामी दिनमा लाग्नुपर्ने उनले बताए।