arrow

चारओटा संसदीय समितिको बैठक बस्दै

'आरोग्य वर्ष २०२७' को तयारीदेखि विधि विज्ञान प्रयोगशाला विधेयकसम्ममा छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १७ बुधबार
Parliamentary_Committee.jpg.jpeg

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज विभिन्न चारओटा संसदीय समितिका बैठकहरू बस्दै छन्। संसद् सचिवालयका अनुसार आज बस्ने बैठकहरूमा आ-आफ्ना कार्यक्षेत्रसँग सम्बन्धित महत्त्वपूर्ण विधेयक, मन्त्रालयका तयारी र आन्तरिक कार्यविधिमाथि गहन छलफल हुने कार्यसूची रहेको छ।

बिहान ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२७ लाई ‘आरोग्य वर्ष’ का रूपमा मनाउन लागेको सन्दर्भमा त्यसको तयारीबारे छलफल हुनेछ। यसका साथै नेपाल नागरिक उड्डयन प्राधिकरण र मन्त्रालयलाई यसअघि समितिले दिएका निर्देशनहरूको कार्यान्वयनको अवस्था तथा त्यसबाट प्राप्त भएका थप उपलब्धिहरूका बारेमा समेत बैठकमा समीक्षा गरिनेछ।

यसैगरी, बिहान साढे ९ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुने कार्यसूची तय भएको छ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ९ बजेका लागि बोलाइएको छ। 

उक्त बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल अगाडि बढाइनेछ। त्यस्तै, बिहान ९ बजे नै बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा भने आगामी सुनुवाइ सम्बन्धी कार्यहरूलाई प्रभावकारी बनाउनका लागि आवश्यक आन्तरिक तयारी गर्ने विषयमा कार्यसूची रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ