arrow

निजामती सेवा विधेयकको प्रतिवेदनमाथि राष्ट्रिय सभामा चर्को बहस: सांसद भुसालद्वारा ‘गायब पारिएको’ आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८२ असार २० शुक्रबार
beduram.jpg

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का सांसद डा. वेदुराम भुसालले प्रतिनिधि सभाबाट सन्देशसहित राष्ट्रिय सभामा आएको सङ्घीय निजामती सेवा विधेयकको प्रतिवेदन अझै वितरण नगरिएको भन्दै आपत्ति जनाएका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद भुसालले असार १८ गते विधेयक सभामा टेबल भएको भए पनि अहिलेसम्म प्रतिवेदन वितरण नहुनुलाई गम्भीर विषय बताएका हुन्। उनले विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार नबनेको विषयमा गम्भीर विवाद उठेकाले विधेयकलाई लिएर आशङ्का थपिएको उल्लेख गरे। उनले प्रतिवेदन वितरण नगर्नुको कारण के हो भन्दै प्रश्नसमेत गरे।

"प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको सङ्घीय निजामती सेवा विधेयक असार १८ मा यो सदनमा प्रस्तुत भएको थियो," उनले भने, "तर आजसम्म पनि त्यस विधेयकको प्रतिवेदन हामीलाई वितरण गरिएको छैन। यो प्रतिवेदन नै राज्य व्यवस्था तथा सुशासन समितिको निर्णयअनुसार बनेन भनेर गम्भीर रूपमा विवाद उठेको र शङ्का भएको यो अवस्थामा हामीलाई प्रतिनिधि सभाबाट सन्देशसहित आएको विधेयकको प्रतिवेदन किन वितरण गरिएको छैन? यसले अर्को आशङ्का जन्माएको छ। विधेयक गायब पार्न खोजिएको हो कि भन्ने शङ्का छ।"

सांसद भुसालले विधेयकको प्रतिवेदन वितरण नगरिनुले यसलाई गायब पार्न खोजिएको हो कि भन्ने आशङ्का बढेको बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ