arrow

राष्ट्रिय सडक सञ्जालमा जोडियो सिमकोट, ओलीले गरे चुवाखोला बेलिब्रिज उद्घाटन

logo
जनकबहादुर शाही, 
प्रकाशित २०८२ असार २२ आइतबार
kp-oli-radhika-82-3-22.jpg

हुम्ला । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली चुवाखोला बेलिब्रिज उद्घाटन गरेसँगै हुम्लाको सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक दिनको साक्षी बन्यो। 

यद्यपि यसको अर्थ आजबाट वा पहिलो पटक गाडी चल्न थालेको भन्ने भने होइन। यसअघि नै मालवाहक र यात्रुबाहक हल्का सवारीसाधनमार्फत सिमकोट–सुर्खेत, सुर्खेत–सिमकोटबीच सामान ढुवानी र जनआवागमन जारी थियो।

यसअघि “हुम्लीबासीको राष्ट्रिय सडक सञ्जालमा पहुँच छैन” भनिन्थ्यो, अब भने “सदरमुकाम सिमकोटसम्म सिधा पहुँच पुगेको” सत्य आजबाट औपचारिक रूपमा स्थापित भएको छ । 

सडक विभागमार्फत सोही स्थानमा पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा छ। तर सरकारको उदासीनता र ढिलासुस्तीका कारण अस्थायी उपायस्वरूप नयाँ फलामे रेडिमेड बेलिब्रिज राख्नु परेको अवस्था सृजना भयो। यद्यपि, यस्तो बेलिब्रिज निर्माण गरी सिमकोटलाई यथाशीघ्र राष्ट्रिय सडक सञ्जालमा ल्याउने प्रयासको श्रेय स्वाभाविक रूपमा वर्तमान सरकारलाई जान्छ।

हुम्ला जिल्लाको शिर्ष सदरमुकाम सिमकोट औपचारिक रूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिएको ऐतिहासिक क्षण आइतबार सम्पन्न भएको छ। 

कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोलामा निर्माण गरिएको अस्थायी बेलिब्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस उपलब्धिलाई 'कर्णालीको नयाँ युग' को सुरुवातको रूपमा घोषणा गरे । 

प्रधानमन्त्री ओलीले उद्घाटन समारोहमा बोल्दै भने, “सिमकोटसँग अब राष्ट्रिय सडक सञ्जालको औपचारिक पहुँच स्थापित भएको छ। अब हुम्लीबासीको यात्रा, ढुवानी, सेवा र विकासमा गति आउनेछ।”

सडक विभागमार्फत स्थायी मोटरेबल पुल निर्माणको प्रक्रिया ढिलो भइरहेका बेला अस्थायी रेडिमेड फलामे बेलिब्रिजमार्फत सिमकोटसम्मको सिधा सडक पहुँच सुनिश्चित गरिएको हो। 

यसअघि पनि हिल्सामा एलसी र क्वारेन्टाइन घोषणा
कार्यक्रमको क्रममा प्रधानमन्त्री ओलीले हिल्सा नाका क्षेत्रमा ल्यान्ड कस्टम्स अफिस (एलसी) र स्थायी क्वारेन्टाइन केन्द्र निर्माण गर्ने सरकारको योजना पनि सार्वजनिक गरे।

“सीमा सुरक्षा, स्वास्थ्य परीक्षण र अन्तरदेशीय व्यापार व्यवस्थित गर्न हिल्सामा एलसी र क्वारेन्टाइन केन्द्र निर्माण आवश्यक छ। त्यसैअनुसार सरकारले चाँडै काम अघि बढाउनेछ,” प्रधानमन्त्री ओलीले बताए ।

हिल्सा नाका नेपाल–चीनबीचको प्रमुख व्यापारिक र आवतजावत बिन्दु हो। तर हालसम्म त्यहाँ पूर्वाधारको न्यूनता, स्वास्थ्य परीक्षणको अभाव, र अस्थायी व्यवस्थाकै भरमा सीमापार आवाजाही हुँदै आएको छ।

स्थानीय खुशी, राष्ट्रिय महत्व
बेलिब्रिज उद्घाटनसँगै स्थानीयवासीहरूमा उत्साह देखिएको छ। खार्पुनाथ गाउँपालिका, सिमकोट गाउँपालिका, नाम्खा लगायतका स्थानहरूका नागरिकले अब सजिलै सुर्खेत, नेपालगञ्ज हुँदै अन्यत्र आउजाउ गर्न सक्ने अवस्था पुगेको जनाएका छन्।

हुम्लाको सन्दर्भमा, सडक सञ्जाल विकासका लागि लामो संघर्ष गरिएको थियो। २०५५ सालतिरदेखि स्थानीय नेतृत्वद्वारा उठाइएको पहल, निरन्तरको संघीय सरकारको सहयोग, र जनस्तरको साथले यो दिन सम्भव भएको स्थानियको भनाई रहेको छ । 

कर्णाली करिडोर अन्तर्गत पर्ने हिल्सा–सिमकोट सडक नेपालको एक रणनीतिक तथा विकासीय महत्वको सडक हो। यसले हुम्लालाई मात्रै होइन, नेपाल भारत र चीन व्यापार तथा कर्णालीसंगैसिगो नेपालको समग्र विकासलाई प्रत्यक्ष असर पार्ने अपेक्षा गरिएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ