विश्व आज प्राविधिक क्रान्तिको यस्तो चरणमा उभिएको छ जहाँ जैविक र डिजिटल अमरत्व अब कुनै विज्ञानसँग सम्बन्धित कल्पनाको कथा नभएर वास्तवमै सम्भावित बनिरहेको छ । विकसित मुलुकहरू जस्तै अमेरिका, जापान, चीन र युरोपेली देशहरूमा न्यानोटेक्नोलोजी, जेनेटिक इन्जिनियरिङ र कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले मानव जीवनलाई अनिश्चितकालसम्म लम्ब्याउन सक्ने र मृत्यु भनेको प्राविधिक गडबडीले मात्र हुनसक्ने सम्भावनाको खोजी निष्कर्ष उन्मुख हुँदै गैरहेको देखिदै छ। यी मुलुकहरूले अनुसन्धान, नवप्रवर्तन र नीतिगत पहलहरूमार्फत अमरत्वको सपनालाई यथार्थमा बदल्दै छन् ।
अमरत्वको दौडमा विकास भएका प्रविधिहरु के के छन् ? यिनले के कसरी काम गर्छन् भन्ने सन्दर्भमा विभिन्न अत्याधुनिक प्रविधिहरूको संयोजन आवश्यक पर्छ। पहिलो, जैविक प्रविधि जस्तै जीन सम्पादन र स्टेम सेल थेरापी जसले उमेरसँग सम्बन्धित रोगहरू रोक्न र शरीरको नवीकरण गर्न मद्दत गर्छ । दोस्रो, न्यानोरोबोटिक्स प्रविधिबाट शरीरभित्रका कोषहरूलाई सफा गर्न, मर्मत गर्न र रोगहरूको रोकथाम गर्न सकिन्छ। तेस्रो, कृत्रिम बुद्धिमत्ता र डिजिटल माइन्ड अपलोडिङ प्रविधिले मानिसको चेतना कम्प्युटरमा अपलोड गरेर डिजिटल रूपमै जीवन जारी राख्न सक्छ। चौथो, साइबोर्ग टेक्नोलोजी मार्फत मानव शरीरलाई मेशिनसँग एकीकृत गरेर नटुट्ने, नबुढिने बनाउने प्रयास भइरहेको छ।
यस्तैगरी जीवनलाई लम्ब्याउने औषधि र जैविक रुपमा पुनः यौवन बनाउन सकिने उपचार जसले शरीरका बुढ्यौलीका लक्षणहरू हटाउने र कोषहरूलाई फेरि जवान अवस्थामा फर्काउने गर्छ । यो उपचारले उमेरसँगै घट्ने शारीरिक क्षमता, त्वचा, स्नायु अंग र कोषहरूको क्रियाशीलतालाई पुनः सक्रिय बनाउने प्रयास गर्दछ।
गएको वर्ष स्ट्यानफोर्ड विश्वविद्यालयले न्यानोबोट्स मार्फत क्यान्सर कोशिकाहरूलाई लक्षित गरी त्यस्ता कोषहरू नष्ट गर्ने औषधि पुर्याउने प्रविधिमा सफलता हासिल गर्यो। अबको २-४ वर्षभित्र यस्ता न्यानोबोट्सले बुढ्यौलीसँग सम्बन्धित कोशिकीय क्षतिलाई मर्मत गर्न सक्ने अनुमान गरिएको छ। जून जेनेटिक इन्जिनियरिङ सँग पनि प्रत्यक्ष रुपमा जोडिने कार्य हो। जस्ले बुढ्यौलीसँग सम्बन्धित जीनहरु लाई परिवर्तन गर्न सक्छ। साथै, आनुवंशिक रोगहरू लाई समेत हटाउँछ। यस्ता प्रविधिहरूले मानव जीवनलाई अनिश्चितकालसम्म लम्ब्याउन सक्ने स्थिति निर्माण भैरहेको छ ।
अर्को प्रविधि कृत्रिम बुद्धिमता जस्ले स्वास्थ्य सम्बन्धि डेटा विश्लेषण गर्दै रोगको उपचारको परिपक्व योजनाहरू बनाउन सक्छ। जस्तै, गुगलको डिपमाइन्डले प्रोटिन संरचनाको विश्लेषण गरेर कस्ता-कस्ता रोगका लागि के कस्ता-कुन प्रकारका नयाँ औषधिहरू रोग निदानका निम्ति उपयोगी हुन्छन् त्यसको विकास तीब्र रुपमा गर्न सुरु गरिसकेको छ ।
सन् २०३० सम्ममा एआईमा आधारित रोग निदान प्रणालीहरूले क्यान्सर र हृदयरोग जस्ता रोगहरूको प्रारम्भिक चरणमा नै उपचार गर्न सक्ने प्रविधि बजारमा ल्याउने अनुमान गरिएको छ।
अर्को महत्वपूर्ण फड्को भनेको अमर-जैबिक चेतना जस्को जग अहिले डिजिटल चेतनाले बनाइरहेको छ। न्यूरालिंक जस्ता कम्पनीहरूले मस्तिष्क र कम्प्युटरलाई जोड्ने प्रविधिमा काम गरिरहेका छन्। यो प्रविधिले मानव चेतनालाई डिजिटल स्वरूपमा संग्रह गर्न सम्भव छ । जसले जैविक मृत्युपछि पनि चेतनालाई अमर बनाउँछ। गएको वर्ष मात्र न्यूरालिंकले मस्तिष्क-कम्प्युटर इन्टरफेसको प्रारम्भिक परीक्षणमा सफलता प्राप्त गरेको छ। भविष्यमा डिजिटल पेन ड्राइभ मार्फत होइन जैबिक पेन ड्राईभ मार्फत मानिसहरुको मेमोरी अर्कोमा सारिदिने स्थिति निर्माण हुन सक्छ ।
विकसित मुलुकहरूले नीतिगत पहल गर्दै यस्ता र अनेक छलाङ मार्ने प्रविधिहरूमा जोड दिएका छन् । जापान जस्ता बिकसित मूलुकले त आफ्नो कुल गार्हस्थ्य उत्पादनको ३.३% अनुसन्धान र विकासमा खर्च गर्छ । यस्तै, संयुक्त राज्य अमेरिकाले ३.४% र चीनले २.४% लगानी गर्छ। यो लगानीले जैविकीय प्रविधि र एआइमा ठूलो प्रगति गरिरहेको छ ।
यसरी मानव जीवनलाई अमर बनाउने प्रविधिको आविष्कार, विकास र जनता सम्म पुर्याउन चाहिने लगानी सरकार न नीजि क्षेत्र एक्लैले सम्भव छैन।दुबैको सहकार्यमा हुनु जरुरी छ। जस्तै अमेरिकाको डिफेन्स एडभान्स रिसर्च प्रोजेक्टले बायोटेक्नोलोजीको क्षेत्रमा ठूलो लगानी गरि नयाँ पुस्तालाई प्राविधिक क्रान्तिको लागि तयार गरिरहेको छ।
एकातिर प्रविधिको क्रान्ति भैरहेको छ जस्को प्रगतिहरूको लाभ मुख्यतया विकसित मुलुकका धनी वर्गले लिइरहेका छन्। उदाहरणका लागि, सन् २०५० सम्ममा जैविक अमरत्व प्रविधिको मूल्य यति उच्च हुन सक्छ कि केवल धनी वर्गले मात्र यो खरिद गर्न सक्छन् । यो असमानताले विश्वलाई अमर सम्पन्न वर्ग र कम्जोर वञ्चित वर्गमा रुपान्तरण गर्ने छ।
यस्ता प्रविधिहरुको विकास माथि-माथि आइसक्दा पनि नेपालमा हामी कहाँ छौँ ?
हाम्रो देशमा लाखौँ नागरिकहरू आधारभूत स्वास्थ्य सेवा, स्वच्छ पिउने पानी र गुणस्तरीय शिक्षाबाट वञ्चित छन्। जब विश्व जैविक अमरत्वको दिशामा अघि बढिरहेको छ, नेपाल भने आधारभूत आवश्यकताहरू पूरा गर्नमै सङ्घर्षरत छ। यो अवस्थाको पछाडि धेरै कारणहरू छन्, तर सबैभन्दा महत्त्वपूर्ण कारक हो—नेपालका राजनीतिक पार्टीहरूको नीतिगत कमजोरी, प्राथमिकता निर्धारण गर्न सक्ने क्षमताको अभाव, अल्पकालिन सोच र सत्तालिप्साले भरिएको नेतृत्व ।
हाम्रा पार्टीहरुमा नीतिगत प्राथमिकताको अभाव प्रस्टरुपमा देखिन्छ। इनिहरुले प्राविधिक विकास र अनुसन्धानलाई प्राथमिकतामा राखेकै छैनन्। नेपालमा अनुसन्धानमा कुल बजेटको ०.२% भन्दा कम खर्च छ। तुलनात्मक रूपमा, दक्षिण कोरियाले आफ्नो जीडिपीको ४.८% अनुसन्धानमा लगानी गर्छ। जसले उसलाई प्राविधिक नवप्रवर्तनमा अग्रपङ्क्तिमा राखेको छ।
यहाँको शिक्षा प्रणाली यति कमजोर छकी विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित पाठ्यक्रमको सधै अभाव छ । त्रिभुवन विश्वविद्यालयमा बायोटेक्नोलोजी र एआईमा स्नातक तहका सीमित कार्यक्रमहरू छन्, तर तिनमा अनुसन्धानका लागि आवश्यक प्रयोगशाला वा कोषको अभाव देखिन्छ। उदाहरणका लागि, नेपालमा कुनै पनि विश्वविद्यालयमा न्यानोटेक्नोलोजीमा विशेषीकृत स्नातकोत्तर कार्यक्रम छैन । यो कमजोरीको जिम्मेवारी राजनीतिक नेतृत्वको हो, जसले शिक्षालाई केवल भोटको राजनीति गर्न लाई मुद्दा बनाएको छ।
राजनैतिक पार्टीहरूले मन्त्रालय भागबन्डा केबल नेत्रित्वको आाफन्त को छ ? कस्ले मन्त्रालय प्राप्तिमा बढि नजराना टक्र्याउँछ ? कस्ले नेत्रित्वको अति चाकडी र खुराफात गर्न सक्छ ? वा नेत्रित्वका कमि-कम्जोरि लाई लिएर कस्ले- कति बार्गेनिङ गर्न सक्छ सोहि आधारमा स्तर अनुसारको नेता मन्त्री बन्छ। इनले-यस्ताले नेपाल लाई अमरत्वको दिशातिर लिएर जाने प्रविधि उत्पादन गर्न सक्ने मानव संशाधन विकास गर्ने पाठ्यक्रम निर्धारणमा भूमिका खेल्न सक्लान् त ?
फेरि नेपाल प्राविधिक उत्पादनमा भन्दा पनि प्राविधिक आयातमा पर निर्भर छ। स्मार्टफोन, मेडिकल उपकरण र सफ्टवेयरहरू विदेशबाट आयात हुन्छन्। यहाँ स्वदेशी प्राविधिक उत्पादन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने नीति नै स्पस्ट छैन । उदाहरणका लागि भारतले “मेक इन इन्डिया” अभियानमार्फत स्वदेशी प्रविधिलाई प्रोत्साहन गरेको छ तर नेपालमा यस्तो कुनै ठोस पहल छैन ।
पार्टी त्यसका नेतृत्व भ्रष्टाचार र स्रोतको दुरुपयोगमै व्यस्त छन् । नेपालका विभिन्न जिल्ला हुँदै प्रस्तावित “सूचना प्रविधि पार्क" काठमाडौँमा आएर थन्किदै छ। यस्ता परियोजनालाई अगाडि बढाउन राजनीतिक इच्छाशक्तिको अभाव स्पष्ट देखिन्छ। यस्तै, नेपाल टेलिकमको ५जी विस्तार परियोजनामा पनि बारम्बार ढिलाइ भैरहेको छ।
नेतृत्व, छोटो अवधिको सत्तालिप्सामा केन्द्रित हुने, दीर्घकालीन रणनीतिहरू-जस्तै प्राविधिक विकास, अनुसन्धान र नवप्रवर्तनलाई बेवास्ता गरी मात्र चुनावी लोकप्रियतालाई मात्र प्राथमिकता दिँदै आइरहेको छ।
बिडम्बना, विश्वमा मानव जातिकै स्थायी अस्तित्व (अमरत्व) को क्षेत्रमा काम गर्ने कुरा यसरी उर्लेर आइसक्दा पनि नेपालका राजनैतिक नेतृत्वले यस विषयमा सामान्य भन्दा सामान्य तवरले सोच्ने सम्म फुर्सद नपाइरहेको अवस्था छ। जुन अधिकांश पार्टीहरूको चुनावी घोषणापत्र वा कुनै ठोस योजना र कार्यक्रममा पर्दैन ।
फेरि नेपालमा बारम्बारको सरकार परिवर्तन र नीतिगत अस्थिरताले दीर्घकालीन परियोजनाहरूलाई प्रभावित पारिरहेको छ। सन् २००८ देखि २०२५ सम्म नेपालमा १३ पटक सरकार परिवर्तन भएको छ, जसले कुनै पनि दीर्घकालीन प्राविधिक नीतिलाई ब्यवहारत कार्यान्वयन गर्न गाह्रो बनायो ।
नेपालमा सन् २०२४ मा मात्र, १,५०० भन्दा बढी नेपाली चिकित्सकहरू विदेश पलायन भए। स्वास्थ्य क्षेत्रलाई कुल बजेटको ४.१% मात्र छुट्याइएको छ। जुन विश्व स्वास्थ्य संगठनको सिफारिस (कम्तीमा ६%) भन्दा कम हो। यो बजेट पनि प्रभावकारी कार्यान्वयनको अभावमा खेर गइरहेको छ। भने कसरी नेपालले नेपालीहरु लाई अमर बनाउने प्रविधिको विकासमा पाइला सार्ला त ?
हामीलाई थाहा छ एआईमा आधारित निदानको विकास र उपयोगका लागि उन्नत स्वास्थ्य पूर्वाधार नबनाइ हामी गंतब्यमा पुग्न सक्दैनौ। तर नेपालमा पुर्वाधारका उपकरणको अभाव यस्तो छकी काठमाडौँ बाहिरका अस्पतालहरूमा एमआरआई, सीटी स्क्यान जस्ता आधारभूत उपकरणहरू पनि उपलब्ध छैनन् । यस्तो अवस्थामा न्यानोबोट्स वा जेनेटिक थेरापीको कल्पना गर्नु कतिको सम्भव होला ?
उता स्वास्थ्य सेवाको निजीकरणले गुणस्तरीय उपचारलाई धनी वर्गमा सीमित गरेको छ ।
नेपालमा डिजिटल पूर्वाधारको ठूलो अभाव छ। डिजिटल अमरत्वको लागि उच्च गतिको इन्टरनेट, सुपर कम्प्युटिङ र डेटा सुरक्षाको आवश्यकता पर्छ। तर नेपालमा यी क्षेत्रमा राजनीतिक पार्टीहरूको ध्यान गएकै छैन । सन् २०२४को तथ्याङ्कअनुसार, नेपालको इन्टरनेट पहुँच दर ४५% छ र ग्रामीण क्षेत्रमा यो झनै कम छ। सरकारले फाइबर अप्टिक्स र ५जी जस्ता प्रविधिहरूको विस्तारको लगानीमा खासै जोड दिएको छैन ।
जस्तो नेपाल टेलिकमको ५जी परियोजना सन् २०२५ सम्म पनि पूर्ण रूपमा कार्यान्वयन भएको छैन । जून सुपर कम्प्युटर वा क्लाउड कम्प्युटिङको लागि नभैनहुने हो। यस्ता प्रविधिहरू डिजिटल चेतनाको आधारभूत आवश्यकता हुन् । यसका लागि डेटा सुरक्षा अत्यावश्यक छ। तर यहाँ साइबर सुरक्षा नीति र कानूनहरू कमजोर छन् ।
नेपालका राजनीतिक पार्टीहरूले डिजिटल स्वायत्तताको महत्त्वलाई बेवास्ता गरेका छन् । देशले आफ्नै डेटा संरचना र नीति बनाउनुपर्छ। होइन भने यो डिजिटल उपनिवेशवादको जोखिममा पर्न सक्छ।
तसर्थ नेपाललाई प्रविधिको विकासमार्फत नेपालीलाई अमरत्वको दिशातर्फ लैजान कस्ता राजनैतिक पार्टी वा नेतृत्व आउनु पर्यो त ? सक्षम दूरदर्शी नेत्रित्व, वैज्ञानिक सोच भएको र नैतिक मूल्यमा अडिएको हुनु आवश्यक छ। यस्तो नेतृत्वले केवल आजको समस्याको समाधान नगरी, भविष्यको सम्भावनालाई देख्न, चिन्ह्न र त्यसलाई साकार पार्न योजनाबद्ध ढंगले काम गर्न सकोस् ।
अझ नेपालको परिप्रेक्ष्यमा भन्नु पर्दा यहाँका राजनीतिक पार्टीहरूले आफ्नो दार्शनिक दृष्टिकोणलाई प्राविधिक प्रगतिसँग जोड्नुपर्छ । प्रविधि र मानव जीवनको समायोजन गर्न सक्ने नेतृत्वले डिजिटल शिक्षा, कृत्रिम बुद्धिमत्ता, जैविक प्रविधि, मस्तिष्क-कम्प्युटर इन्टरफेस जस्ता क्षेत्रमा अनुसन्धान र नवप्रवर्तनलाई प्रोत्साहन गर्नुपर्ने हुन्छ। अमरत्व भनेको केवल शारीरिक अस्तित्वको निरन्तरता होइन; यो ज्ञान, चेतना र अस्तित्वको दीर्घकालीन संरक्षण हो ।
त्यसका लागि नेतृत्वले वैज्ञानिक अनुसन्धानमा लगानी, नवप्रवर्तनमैत्री नीति, प्रविधिमैत्री वातावरण र उच्चस्तरीय अनुसन्धान केन्द्रको स्थापना गर्नुपर्छ। यस्तो नेतृत्वले युवालाई प्रविधिमा पारंगत बनाउने, दिगो विकास र अन्तरिक्ष, न्यानोटेक्नोलोजी तथा डिजिटल स्वास्थ्य प्रणालीमा अग्रसर गराउने योजना ल्याउनु पर्छ।
अझ नीतिलाई कार्यान्वयन गर्ने रणनीति लाई आधार मानेर ब्यबहारीक ढङग बाट सरकारले अनुसन्धान र विकासमा कम्तीमा कुल बजेटको १% छुट्याउनुपर्छ। विश्वविद्यालयहरूमा एआई, न्यानोटेक्नोलोजी र बायोटेक्नोलोजीमा आधारित पाठ्यक्रमहरू विकास गर्नुपर्छ। साथै अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूसँग सहकार्य गरेर नेपाली विद्यार्थीहरूलाई अवसर प्रदान गर्नुपर्छ ।
नेपाललाई अमरत्वको दिशातर्फ लैजाने नेतृत्व त्यो हो, जसले विज्ञानलाई धर्मभन्दा अगाडि राख्दछ र नवप्रवर्तनलाई राष्ट्रिय अस्तित्वको मेरुदण्ड ठान्दछ ।