भोटेकोशी बाढीमा २० जना नेपाली भूमिबाट बेपत्ता, चीनबाट ११ हराएको खबर छ – गृहमन्त्री [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ असार २९ आइतबार
564
Shares
काठमाडौं। गृहमन्त्री रमेश लेखकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएकामध्ये २० जना नेपाली भूमिबाट हराएको र ११ जना चीनको भूमिबाट बेपत्ता भएको खबर आएको बताएका छन्। आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले चीनबाट हराएकाहरू बगेर नेपालमै आएको हुन सक्ने र उनीहरूको पनि खोजी भइरहेको जानकारी दिए।
गृहमन्त्रीका अनुसार, बाढीमा परि बेपत्ता भएकामध्ये अहिलेसम्म ११ जनाको शव फेला परेको छ, तर तीमध्ये दुई जनाको मात्रै सनाखत भएको छ। सरकारले विपद्मा परेर बेपत्ता भएको १० दिनसम्म पनि शव नभेटिएमा मृतक सरह राहत दिने निर्णय गरेको उनले बताए।
गृहमन्त्री लेखकले खोज, उद्धार र पुनर्निर्माणका लागि सरकार तयारी अवस्थामा रहेको बताए। उनले पूर्वसूचना प्रणालीलाई चुस्तदुरुस्त बनाएको दाबी गर्दै अब जोखिम उत्पन्न भइहालेमा तत्काल प्रतिकार्य गरिने बताए।
उनले भने, "अहिलेको स्थिति कस्तो छ भने २० जना मानिस हाम्रै सीमाभित्रबाट बेपत्ता भएको स्थिति देखिन्छ। जसमा मित्रराष्ट्र चीनको नागरिकहरू पनि हुनुहुन्छ। ११ जना जति चीनबाटै मिसिङ भएको खबर गर्नुभएको छ। उहाँहरू पनि बगेर यतै ल्याएको आशंका छ। अहिलेसम्म जम्मा ११ जनाको मात्रै लाश भेटिएको छ। सनाखत दुई जनाको मात्रै भएको छ।"
गृहमन्त्रीले पूर्वसूचनाका लागि एसएमएसले मात्र नपुगेको निष्कर्ष निकाल्दै अब टेलिफोन सर्भिस प्रोभाइडरहरूसँग समन्वय गरी घण्टी नै एकै पटक बजाउने र फोन उठाउने वातावरण बनाउनेबारे सोचिरहेको पनि बताए।