arrow

पोखरा जग्गा प्रकरण: मन्त्री अधिकारीद्वारा अडियो टेपमाथि स्पष्टीकरण [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १ बिहिबार
balaram-ad-.jpg

काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले पोखरामा एक सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने कार्यका लागि घुस लिएको भनी सार्वजनिक भएको अडियो आफूसँग सम्बन्धित नरहेको स्पष्टीकरण दिएका छन्।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले सार्वजनिक अडियोमा बोल्ने मान्छेहरू आफू र आफ्नो मन्त्रालयसँग सम्बन्धित नरहेको दाबी गरे। उनले कर्मचारी सरुवा र जग्गा व्यक्तिका नाममा दर्ता गर्ने कार्यमा आफूले कुनै पनि घुस नलिएको जिकिर गरे। मन्त्री अधिकारीले विचौलियाको काम अस्वीकार गरेपछि आफ्नो ’अभिष्ठ’ पूरा गर्नका लागि आफ्नो चरित्र हत्या गरिएको दाबी गरे। उनले पोखराका सुजन लामाले कर्मचारीको सरुवा रोक्नका लागि मन्त्रालय आए पनि आफूले अस्वीकार गरेको पनि उल्लेख गरे।

"मन्त्रालय र मसँग जोडिएर आएको अडियो सार्वजनिक भएको छ," मन्त्री अधिकारीले भने, "उक्त अडियोमा बोल्ने व्यक्तिहरू मेरो सरोकारवाला छैनन्। सञ्चारमाध्यमले यसबारे गम्भीर भइदिनुहोला। जग्गाजमिन र सरुवाको विषयमा उजुरी आएको सम्बन्धमा तत्काल हुन्छ नभए नियमित तरिकाले जान्छ।"

उनले आफूमाथि लागेको भ्रष्टाचारको आरोपलाई अस्वीकार गर्दै यो आफ्नो छोराको नाम पनि जोडेर चरित्र हत्या गर्ने कुप्रयास भएको बताए। उनले भने, "मैले भनेको नमानेपछि आफ्नो अभिष्ठ पूरा गर्नका लागि मेरो र मेरो परिवारको चरित्र हत्या गर्ने प्रयास गरिएको छ।"

मन्त्री अधिकारीमाथि पोखरामा १ सय ३५ रोपनी जग्गा व्यक्तिको नाममा ल्याउने प्रयासमा एक समूहसँग घुस लिएको दाबीसहितको अडियो सार्वजनिक भएको थियो। उक्त अडियोमा मन्त्री अधिकारीलाई छोरामार्फत ३२ लाख रुपैयाँ लिएको दाबी गरिएको छ भने तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले समेत अधिकारीको नाम पोलेको र आफूले ३५ लाख लिएको सुनिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ