arrow

घण्टाकर्ण चतुर्दशी पर्व मनाइँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ७ बुधबार
ghatkarna-gathamag.jpg

भादगाउँ (भक्तपुर)। साउन कृष्णपक्ष चतुर्दशीको अवसरमा आज भक्तपुरका नेवार समुदायले घण्टाकर्ण चतुर्दशी (गाथांमग चह्रे) पर्व मनाउँदैछन्। यस पर्वलाई विशेषगरी घरको शान्ति र स्वस्तीका लागि भूतप्रेतलाई पूजा गरी मन्छाउने पर्वका रूपमा लिइन्छ। नेवार समुदायमा यस पर्वसँगै चाडपर्वहरू सुरु हुने भएकाले यसलाई वर्षको पहिलो पर्व पनि मानिन्छ।

यस पर्वको अवसरमा बिहानै घरलाई लिपपोत गरी शुद्ध बनाएपछि महादेव वा नारायणको मन्दिरबाट ल्याएको जलले घरलाई चोखो बनाउने चलन छ। त्यसपछि 'बौ वाय् ज्या' (भूतप्रेत मन्छाउने कार्य) गरिन्छ, जसमा माटोको भाँडामा विभिन्न सामग्री राखेर घरको मूलढोका र टोलबाहिरको दोबाटोमा लगेर राखिन्छ। यससँगै घरको मूलढोकामा मयूरको प्वाँख र फलामको किला ठोकिन्छ।

साँझपख घरघरबाट 'छ्वाली प्वाः वायगु ज्या' (छ्वालीको मुठा फाल्ने कार्य) गरिन्छ। छ्वालीको मुठालाई बालेर घरभित्र परिक्रमा गराई बाहिर लगेर जलाइन्छ। यसबाट लामखुट्टेको संख्या कम हुने जनविश्वास रहेको संस्कृतिविद्हरूको भनाइ छ।

इतिहासविद् एवं संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार, घण्टाकर्ण पर्व करिब दुई हजार वर्ष पुरानो हो। पौराणिक कथाअनुसार, भगवान् विष्णुका भक्त घण्टाकर्ण शिवको नाम सुन्न नपरोस् भनेर कानमा ठूला घण्टा झुण्डाएर हिँड्थे। यसैबाट यस पर्वको नाम घण्टाकर्ण चतुर्दशी रहन गएको हो। यो पर्वले नकारात्मक सोच परिवर्तन गर्न उत्प्रेरित गर्ने र शान्तिको कामना गर्ने विश्वास गरिन्छ।

यो पर्वलाई किसानहरूले रोपाइँ कार्य सम्पन्न भएको खुसियालीमा मनाउने र चाडपर्वको सुरुआत भएको जनाउ दिने पर्वका रूपमा पनि लिइन्छ। आजकै दिनदेखि नेवार समुदायमा गाईजात्राका लागि परम्परागत नाच तथा बाजागाजाको प्रशिक्षण पनि सुरु हुन्छ।

घण्टाकर्ण चतुर्दशीकै दिन भक्तपुरको प्रसिद्ध नवदुर्गा देवगणको मुखुण्डो बनाउने कार्य को पनि शुभारम्भ गरिन्छ। साथै, आज वाखुपति नारायण, तिलमाधव नारायण, लोकेश्वर मन्दिर, दत्तात्रय मन्दिरलगायत नगरका शक्तिपीठहरूमा दर्शनार्थीको भीड लाग्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ