arrow

रासायनिक मलका लागि किसान रातभर लाइनमा

नवलपरासीमा धान उत्पादन घट्ने चिन्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ९ शुक्रबार
rasayanik-mal.jpg

नवलपरासी । नवलपरासीको बर्दघाट सुस्ता पश्चिमस्थित पाल्हीनन्दन गाउँपालिकाका किसानहरू रासायनिक मल लिनका लागि रातभर लाइनमा बस्न बाध्य भएका छन्। रोपाइँ सकिएको दुई महिना बितिसक्दा पनि मलको अभावका कारण धान उत्पादन घट्ने चिन्ताले किसानहरूलाई पिरोलेको छ।

पाल्हीनन्दन गाउँपालिका–४ का रामानन्दन हरिजनले आफ्नो पीडा व्यक्त गर्दै भने, “रोपाइँ सकिएको दुई महिना भयो, मलको अभाव भएर अहिलेसम्म पाएका छैनौँ। सरकारले उपलब्ध गराउने मल पाउने आशामा रातिदेखि लाइनमा बसेका छौँ।” उनले रासायनिक मल प्रयोग नगरे धान उत्पादन घट्नेमा चिन्ता व्यक्त गरे। हरिजनका अनुसार, रातिदेखि लाइनमा बसेपछि प्रति किसान २५ किलो युरिया मल पाइएको छ। उनले थपे, “मलको अभाव देखेर खेती गरौँ कि नगरौँ भन्ने दोधारमा छौँ।”

पाल्हीनन्दनको हरपुरमा पनि बिहीबार राति ३ बजेदेखि युरिया मल लिनका लागि किसानहरू सहकारीको अगाडि लाइनमा बसेको रवीन्द्र हरिजनले बताए। उनले लामो समयदेखि वर्षा नहुँदा अत्यधिक गर्मी बढेको र जमिन सुकेर खडेरी लागेका कारण धानका बिरुवा सुक्न थालेको जानकारी दिए।

पाल्हीनन्दन–४ का वडाध्यक्ष रवीन्द्र सहानीले मलको अभाव रहेकाले सबै किसानलाई वितरण गर्ने उद्देश्यले लाइनमा व्यवस्थित गराएर प्रति किसान २५ किलोका दरले युरिया वितरण गरिएको बताए।

यता, पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीले आवश्यकताअनुसार मल नपाएको गुनासो किसानहरूबाट आइरहेकाले वितरणको पहल थालिएको जानकारी दिए। उनले मलको कोटा बढाउन आवश्यक रहेको बताउँदै यसका लागि सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्ने उल्लेख गरे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ