बढ्दो बेरुजुको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति नै हो: सांसद केसी
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १२ सोमबार
1.9k
Shares
काठमाडौं। नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले मुलुकमा बढ्दै गएको बेरुजु र घट्दै गएको फछ्र्योटको मुख्य जिम्मेवार सार्वजनिक लेखा समिति र सम्बद्ध प्रशासनिक निकाय रहेको टिप्पणी गरेका छन्। आइतबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद केसीले यस्तो धारणा व्यक्त गरेका हुन्।
उनले मुलुकमा बेरुजु कम गर्दै आर्थिक पारदर्शिता कायम गर्न समितिले गम्भीर भएर सोच्नुपर्नेमा जोड दिए। साथै, महालेखा परीक्षकको कार्यालयभित्रको संरचना र क्षमता सुधारका लागि पनि लेखा समितिले भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
सांसद केसीले भने, "प्रत्येक वर्ष बेरुजु बढ्दै गएको छ तर फछ्र्योट चाँहि घट्दै गएको छ। यसरी बेरुजु बढ्दै जाने र फछ्र्यौट घट्दै जानेमा लेखा समिति नै बढी जिम्मेवार र लेखा समितिसँग सम्बन्धित प्रशासनिक निकाय त्यत्ति जिम्मेवार हो। यसलाई प्रभावकारी रूपमा परिचालित गरेर बेरुजु फछ्र्यौट कसरी गर्न सकिन्छ? र बेरुजु नै हुन नसक्ने स्थिति र नीति कसरी निर्माण गर्न सकिन्छ? भन्नेतर्फ लेखा समिति गम्भीर त हुनैपर्छ।"
उनले महालेखा परीक्षकजस्तो स्वायत्त संवैधानिक संस्थाले पनि संस्थागत संरचना राम्रो नभए प्रभावकारी काम गर्न नसक्ने बताए। समग्र राज्य प्रणालीको सुधार नगरी र काम गर्ने क्षमता वृद्धि नगरी लेखा प्रणालीका समस्याहरू केवल सैद्धान्तिक बहसमा सीमित राख्दा समस्या बढ्दै जाने उनको धारणा थियो।
सांसद केसीले मुलुकमा सुशासन कायम गर्दै आर्थिक प्रशासनिक निकायहरूको संस्थागत कार्यक्षमतामा वृद्धि गर्नु आजको आवश्यकता भएको बताए।