arrow

मुगुबाट चार करोडको परम्परागत खाद्यवस्तु निर्यात

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १३ मंगलबार
Mugu-hamrakura.jpg.jpeg

मुगु । गत आर्थिक वर्ष २०८१/८२ मा मुगु जिल्लाबाट करिब चार करोड रुपैयाँ बराबरको स्थानीय खाद्यवस्तुहरू जिल्लाबाहिर बिक्री भएको छ। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ मुगुका निमित्त कार्यालय प्रमुख तेज विक्रम मल्लका अनुसार, किसानले उत्पादन गरेका चिनो, काउनो, रातो चामल, सिमी, तितेफापर, मिठेफापर, नाफल र जौँ जस्ता परम्परागत अन्नहरू निर्यात भएका हुन्।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले मुगुलाई सिमी जोनका रूपमा विकसित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अन्तर्गत, कार्यक्रमले सिमी ढुवानीमा किसानहरूलाई ५० प्रतिशत अनुदान दिन थालेको छ। गत आर्थिक वर्षमा जिल्लाबाट ७४ मेट्रिक टन सिमी बिक्री भएको र ढुवानी अनुदानबापत किसानले ४ लाख ९० हजार रुपैयाँ प्राप्त गरेका थिए।

सिमीबाहेक, २३० मेट्रिक टन अन्य परम्परागत बालीहरू (जसको स्थानीय मूल्य २ करोड ७ लाख रुपैयाँ अनुमान गरिएको छ) पनि निर्यात भएका छन्। यी बालीहरूमा चिनो, काउनो, कोदो र फापर जस्ता अग्र्यानिक अन्नहरू पर्दछन्।

गत वर्ष सिमीलाई मात्र ढुवानी अनुदान दिइएकोमा, चालु आर्थिक वर्षमा सिमी ढुवानीका लागि ५ लाख रुपैयाँ र अन्य बाली ढुवानी अनुदानका लागि ३ लाख रुपैयाँ विनियोजन गरिएको छ। चालु आवमा ८० मेट्रिक टन सिमी निर्यात गर्ने लक्ष्य राखिएको पनि कार्यालयले जनाएको छ।

मुगुका किसानले यी परम्परागत अन्नबालीहरू पर्याप्त मात्रामा उत्पादन गरे पनि बजारसम्म पुर्‍याउने यातायातको समस्या र बजार जानकारीको अभाव का कारण गाउँघरमै सस्तो मूल्यमा बेच्न बाध्य छन्। यदि सरकारले बजारीकरणको खोजी र ढुवानी अनुदानमा वृद्धि गर्ने हो भने यी परम्परागत बालीहरूले ग्रामीण आर्थिक विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्ने देखिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ