arrow

सुनकोशी मरिन डाइभर्सन २५ वर्षमा पनि नसकिने जोखिममा : प्रधानमन्त्री

सिँचाइको अभावले धान रोपाईंमा ढिलाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १५ बिहिबार
oli-ishwar.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम यही गतिले अघि बढेमा २५ वर्षसम्म पनि नसकिने स्थिति रहेको बताएका छन्। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले काममा ढिलासुस्तीका कारण यो अवस्था आएको भन्दै आफूले बारम्बार बैठक बोलाएर छिटो काम सम्पन्न गर्न निर्देशन दिएको पनि जानकारी गराए। तीन वर्षमा सकिनुपर्ने आयोजना ६ वर्ष भइसक्दा पनि नसकिएको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे।

प्रधानमन्त्री ओलीले अहिले जलवायु परिवर्तनका कारण अनौठो समस्या आइरहेको बताए। उनले अन्नको भण्डार मानिने तराईमा वर्षा नहुँदा हालसम्म ५० प्रतिशतभन्दा बढी धान रोपाईं हुन नसकेको उल्लेख गरे। देशभरमा २५ लाख हेक्टर सिँचाइयोग्य जमिनमध्ये अहिलेसम्म १५ लाख हेक्टरमा मात्रै सिँचाइ पुर्‍याउन सकिएको उनको भनाइ छ।

उनले सबै महिना र सबै सिजनमा खेती लगाउन सकिने गरी जम्मा ५ लाख हेक्टर जमिनमा मात्रै सिँचाइको सुविधा रहेको बताए। सबै महिनामा सिँचाइ पुर्‍याउन अब पाँच गुणा बढी मेहनत गर्नुपर्ने र अन्य ४० प्रतिशत मेहनत मौसमी सिँचाइका लागि पनि गर्नुपर्ने अवस्था रहेको उनको जोड थियो।

प्रधानमन्त्री ओलीले भने, “अहिले जलवायु परिवर्तनको कारण अनौठो भइरहेको छ। तराई–मधेस जहाँ अन्नको भण्डार हो। मधेस प्रदेशले वर्षा लाग्नुभन्दा अगाडि घोषणा गरेको थियो, मधेसको अन्नले देशलाई पाल्छौँ भनेर। त्यति अन्न उब्जाउँछौँ भन्ने घोषणा गरेको थियो। तर साउन १५ मा पुग्दा आधा खेत रोपिएको छैन। पानी परेको छैन। सबै ठाउँमा सिँचाइको प्रवन्ध छैन।”

उनले सिँचाइको अभावका कारण अहिले खेती सकेर खिर खाने दिन (साउन १५) मा ५० प्रतिशत मात्रै धान रोपाईं सकिएको स्थिति रहेको र यसप्रति सरकार चिन्तित रहेको बताए। सरकारले चाडपर्वलाई निरन्तरता दिँदै सबै सिजनमा र सबै वर्ष सबै ठाउँमा यस्तै चाड सबैले मनाउन पाऊन् भन्ने प्रवन्धतर्फ अग्रसर रहेको र त्यसमा प्रतिबद्धता पनि रहेको बताए।

प्रधानमन्त्री ओलीले आफ्ना कामहरूमा ढिलासुस्ती रहेको स्वीकार गरे। उनले सुनकोशी मरिन डाइभर्सन आयोजना दुई-तीन वर्षमा सकिनुपर्नेमा पाँच-छ वर्ष भइसक्दा पनि कतिपय पक्षहरू सुरु नै नभएको बताए। “यसै हिसाबले गर्ने हो भने २५ वर्षमा पनि नसकिने गरी काम भइरहेको छ,” उनले भने, “यसमा ताकेता गरेर अघि बढाइरहेको छु। कामप्रति ठेकेदारलाई झक्झक्याइरहेको छु। दुई पटक ठेकेदार कम्पनी र मन्त्रालयका मानिसहरू राखेर पनि कुरा गरें, कसरी अघि बढाउने भनेर।”

प्रधानमन्त्री ओलीले साउन १५ लाई सबै नेपालीले खुसीसाथ मनाउने गरी आगामी दिनमा वातावरण मिलाउनुपर्ने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ