प्रधानमन्त्री ओली भूपरिवेष्ठित राष्ट्रहरूको सम्मेलनमा भाग लिन तुर्कमेनिस्तान प्रस्थान
हाम्रा कुरा
प्रकाशित २०८२ साउन १९ सोमबार
668
Shares
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन आइतबार मध्यरात तुर्कमेनिस्तानतर्फ प्रस्थान गरेका छन्। तुर्कमेनिस्तानका राष्ट्रपति र संयुक्त राष्ट्रसङ्घका महासचिवको निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा भाग लिन गएका हुन्।
यो सम्मेलन साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) तुर्कमेनिस्तानको ‘अवाजा’ सहरमा हुँदैछ। नेपाल हाल एलएलडीसी समूहको अध्यक्ष रहेकोले प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षको रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन्।
सम्मेलनमा एसिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ वटा भूपरिवेष्ठित देशका प्रतिनिधिहरू सहभागी हुनेछन्। यसको मुख्य उद्देश्य समुद्री पहुँचको अभाव, अन्तर्राष्ट्रिय व्यापारमा पारवहनको समस्या, र विश्व बजारबाट लाभ लिन नसक्नु जस्ता चुनौतीहरूको समाधानका लागि छलफल गर्नु हो।
सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखहरू र संयुक्त राष्ट्रसङ्घका उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।
प्रधानमन्त्रीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभा सदस्य सूर्यबहादुर थापा क्षेत्री, र उच्च सरकारी अधिकारीहरू लगायतको सहभागिता रहेको छ। प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार स्वदेश फर्कने कार्यक्रम छ।