चुनाव लड्न रास्वपामा निवेदन, यी हुन् रुपन्देही ३ का आवेदकहरू
नारायण वली,
प्रकाशित २०८२ साउन २२ बिहिबार
1k
Shares
लुम्बिनी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा हुने उपनिर्वाचनमा रास्वपाबाट उम्मेवार हुन इच्छुकहरुको सूची बिहीबार सार्वजनिक गरेको छ । यसअघि रास्वपाले साउन ७ गतेदेखि २१ गतेसम्म मागेको समयावधिमा ९ जनाले आवदेन दिएका छन् ।
आगामी कात्तिक १७ हुने उपनिर्वाचनका लागि सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनम कुमारी अग्रवाल र मधुप्रसाद अर्यालले आवेदन दिएको लुम्बिनी इञ्चार्ज विपिन आचार्यले जनाएका छन् ।
इञ्चार्ज आचार्यका अनुसार रास्वपाले प्राप्त नामहरुबाट उम्मेदवारको नाम छनोट गर्ने र भदौ १५ मा उम्मेदवारको सूची सार्वजनिक गर्ने पार्टीले कार्यतालिका बनाएको बताइएको छ ।
यी हुन् आवेदन दिएका व्यक्तिः
रास्वपाले पहिलो नम्बरमा नाम सार्वजनिक गरेका खरेल यअघि अमेरिका बस्दै आएको र उपनिर्वाचन लड्नकै लागि नेपाल आएको बुझिएको छ । कानुनका विद्यार्थी रहेका खरेलले सभापति रवि लामिछानेमाथि लागेको सहकारी ठगीको मुद्दामा कानुनका विषयहरुमा सहयोग गर्दै आएको स्रोत बताउँछन् ।
त्यस्तै, महर्जन गत आम निर्वाचनमा समानुपातिक उम्मेदवार थिइन् । उनी रास्वपा केन्द्रीय सदस्य हुन् । भैरहवा माइती भई काठमाडौं बस्दै आएकी उनी उपनिर्वाचनका लागि अहिले रुपन्देहीमा छिन् । सहकारी अभियान्ता ज्ञानु पौडेल भैरहवा निवासी हुन् । पौडेल लुम्बिनी विशिष्टीकृत सहकारीको अध्यक्ष, लुम्बिनी प्रदेशकै ठूलो जनउत्थान सहकारीकी पूर्वअध्यक्ष र केन्द्रीय वचत तथा ऋण सहकारी संघकी केन्द्रीय सदस्य हुँदै विगतमा नेकपा एमाले निकट मानिने उनी सामाजिक क्षेत्र बढी परिचित छन् ।
जिल्ला कोषाध्यक्ष क्षेत्री भैरहवा निवासी हुन् । उनीहरु दुवै सामाजिक क्षेत्र र महिलामाझ बढी परिचित छन् । डा. लेखजंग थापा नपाकै पहिलो न्यूरो सर्जन मानिन्छन् । उनको भैरहवामा आफ्नै क्लिनिक छ । पार्टी संगठनमा उनी सक्रिय छन् । थापा गत निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश सभा सदस्य पदमा समानुपातिक उम्मेदवार बनेका थिए ।
गुप्ता २०७९ को चुनावमा पनि यही क्षेत्रबाट उम्मेदवार थिए । राप्रपाका दीपक बोहराले ३६ हजार ७ सय १७ मत ल्याएर निर्वाचित हुँदा गुप्ताले ५ हजार ७९६ मत ल्याएका थिए । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका कोरहीमाई स्थायी घर भएका उनले स्नातकोत्तरसम्म अध्ययन गरेका छन् ।
पार्थवेन्द्र रुपन्देही क्याम्पस भैरहवाका क्याम्पस प्रमुख थिए । उम्मेदवार बन्नका लागि उनले हिजो (बुधबार) मात्रै पदबाट राजीनामा दिएका छन् । उनी अघिल्लो चुनावमा विवेकशील साझा पार्टीबाट रुपन्देही ३ मै संघीय सांसदको उम्मेदवार थिए । उनी नेकपा एमालेका स्वर्गीय नेता धनपति उपाध्यायका छोरा र सिद्धार्थनगरकी उपमेयर उमा अधिकारीका पति हुन् ।
रचना क्षेत्री पार्टीको जिल्ला कोषाध्यक्ष हुन् । उनी मन्टेश्वरी विद्यालय सञ्चालक हुन् । पुनमकुमारी अग्रवाल नेपालकै ठूलो प्रांगारिक मल उद्योगकी सञ्चालक हुन् । अन्त्यमा मधु प्रसाद अर्याल रुपन्देही–३ का सभापति हुन् । उनी मारिया मन्टेश्वरी स्कुल बुटवलका सञ्चालक तथा प्रिन्सीपल हुन् ।
पार्टी सहमहामन्त्री तथा लुम्बिनी प्रदेश इञ्चार्ज विपीनकुमार आचार्यका अनुसार उम्मेदवार छनौट विधि अन्तर्गत प्रारम्भिक निर्वाचन (प्राइमरी इलेक्सन) को नतिजाको ५० अंक, समावेशिताको ५ अंक, पोलिटिकल प्रोक्सिमिटीको २० अंक र लिडरसिप एकेडेमीको नतिजाको २५ अंकका आधारमा उम्मेदवारको अन्तिम टुंगो भदौ १५ गते लाग्ने जनाइएको छ ।
आचार्यका भन्छन्, प्रारम्भिक सूचिमा परेका उम्मेदवारहरुका विषयमा साउन २३ गते बिहान १० बजेदेखि २४ गते सांझसम्म दावी विरोध र उजुरी गर्न सकिने कार्यतालिका रहेको छ । साउन २५ गते उम्मेदवारहरुबीच छलफल गराई आपसी सहमति जुटाउन प्रयास गरिने र उक्त छलफलबाट कतिपय उम्मेदवारहरु ब्याक हुन सक्नेछन् । बाँकी रहेका उम्मेदवारको नामावली २६ गते निकालिने तयारी छ ।
भदौ १२ गते बिहान ७ बजेदेखि १३ गते साँझ ७ बजेसम्म उम्मेदवार छनोटका लागि पार्टीको मोबाइल एपबाट अनलाइन भोटिङ (प्राइमरी इलेक्सन) हुने पार्टी सहमहामन्त्री आचार्यले बताए । प्राइमरी इलेक्सनमा सम्बन्धित निर्वाचन क्षेत्रका पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रभित्रका मतदाता रहेका पार्टीका तहगत समिति सदस्यको मतदानको १० अंक र केन्द्रीय समिति सदस्यको मतदानको १० अंकभार रहने छ । पार्टी सदस्यको मतदानमा साउन २६ सम्म पार्टी सदस्यता लिएकाले मात्र मतदानमा भाग लिन पाउने सहमहामन्त्री आचार्यको भनाई छ ।
यस्तो छ उपनिर्वाचनको सरगर्मी
रुपन्देही–३ मा हालसम्म बुटवल मोतिपुरका लेखनाथ गैरे, भैरहवाका अजयकुमार गुप्ता र किरण विकले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । तर उनीहरुको चुनावी गतिविधि बाहिर देखिएको छैन । राष्ट्रिय जनमोर्चाले बद्रे आलमलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
उता काठमाडौंका मेयर बालेन शाहका परराष्ट्र तथा खाद्य सल्लाहकार सन्तोष गिरीले भदौ १३ गते औपचारिक समारोहबीच उम्मेदवारी घोषणा गर्ने बताएका छन् । तिलोत्तमा–६ का स्थायी बासिन्दा उनी दोस्रो चरणको घरदैलोमा व्यस्त छन् ।
संघीय लोकतान्त्रिक मोर्चाबाट नागरिक उन्मुक्ति पार्टीले धनिराम चौधरी, डा. सरोजसिंह चौधरी, राकेश कोइरी र अर्का एकजनालाई सिफारिस गरेको छ । चारजनामध्ये एकजनाको नाम गोप्य राख्ने पार्टीमा निर्णय भएको जिल्ला अध्यक्ष तुल्सी चौधरीले बताए ।
रुपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय सदस्यद्वय स्वाती थापा र बसन्तविक्रम शाही, रुपन्देही अध्यक्ष सागरप्रताप राणा, स्वर्गीय दीपक बोहराका छोराहरु गौरव बोहरा र प्रज्ज्वल बोहरा तथा जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको छ ।
उपचुनावमा नेपाली कांग्रेसबाट बालकृष्ण खाँण, प्रमोद यादव, रामचन्द्र ढकाल, रमेश खनाल लगायतको नाम चर्चामा छ । तर नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर थुनामा परी रिहा भएका खाँण उम्मेदवारी दर्ताको समयसम्म मुद्दाको किनारा लागे मात्रै उम्मेदवार बन्ने अन्यथा नबन्ने उनी निकटहरु बताउँछन् ।
एमालेबाट पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, व्यवसायी शशि पौडेल उम्मेदवार बन्ने चर्चा छ । माओवादी केन्द्रसहितका विपक्षी दलबाट उम्मेदवारका आकांक्षी अझै खुलेका छैनन् । तर एकीकृत समाजवादीका युवा नेता एवं अस्पताल व्यवसायी कमल भण्डारी उम्मेदवार बन्ने चर्चा छ ।