एनपीएल मिनी अक्सनः १५ लाखमा चार खेलाडी बिक्री, कसको अवस्था कस्तो ?
हाम्रा कुरा
प्रकाशित २०८२ साउन २५ आइतबार
746
Shares
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि भएको मिनी अक्सनमा 'ए' श्रेणीका चार खेलाडी १५ लाख रुपैयाँमा विक्री भएका छन्। एकभन्दा बढी टोलीले अधिकतम मूल्यमा बोली लगाएपछि लक्की ड्र मार्फत अनुबन्धित हुने यी खेलाडीहरू हुन्: मोहम्मद अदिल आलम, पवन सर्राफ, देव खनाल र अर्जुन साउद।
यी चारै खेलाडीको पृष्ठभूमि र वर्तमान अवस्थालाई हेर्दा केही रोचक तथ्यहरू देखिएका छन्।
अदालतको प्रतिबन्धपछि अदिल र चोटपछि पवनको पुनरागमन
मोहम्मद अदिल आलम लामो समयदेखि प्रतिबन्धमा रहेकाले करिब दुई वर्षपछि ठूलो प्रतियोगिता खेल्दैछन्। अदिललाई अनुबन्ध गर्न सबै ८ टोलीले बोली लगाए पनि गोलाप्रथाबाट काठमाडौं गोर्खाजले उनलाई आफ्नो टोलीमा ल्याउन सफल भयो। अदिल एक समय नेपाली टोलीका उत्कृष्ट अलराउन्डर हुन्, तर लयमा फर्कन उनलाई समय लाग्न सक्छ।
पवन सर्राफ चोटका कारण एनपीएलको पहिलो संस्करण गुमाएका थिए। उनले पछिल्लोपटक एकदिवसीय पीएम कपमा दुई अर्धशतक बनाएका थिए। तर, टी-२० को तीव्र फर्म्याटमा उनलाई आफूलाई प्रमाणित गर्न सहज भने हुनेछैन। पवनलाई गोलाप्रथाबाट कर्णाली याक्सले १५ लाखमा अनुबन्ध गरेको छ।
देव र अर्जुनको संघर्ष
नेपाली यु-१९ क्रिकेट टोलीका पूर्वकप्तान देव खनाल र अर्जुन साउद दुवै ब्याटर हुन् र पछिल्लो समय लय समात्न संघर्ष गरिरहेका छन्। गत सिजन फ्रेन्चाइज टोलीले रिलिज गरेपछि उनीहरू यसपटक अक्सनमा आएका थिए।
देव खनाललाई चितवन राइनोज र लुम्बिनी लायन्सले अधिकतम बोली लगाएपछि गोलाप्रथाबाट चितवन राइनोजले १५ लाखमा अनुबन्ध गरेको छ।
विकेटकिपर ब्याटर अर्जुन साउदलाई पनि चितवन राइनोजले गोलाप्रथाबाटै १५ लाखमा आफ्नो टोलीमा ल्याएको छ। उनी पनि पछिल्लो समय राम्रो फर्ममा छैनन्।
अन्य खेलाडीको अनुबन्ध
क्याटेगोरी 'ए' मा रहेका स्पिनर सूर्य तामाङ १० लाख रुपैयाँमा विराटनगर किंग्समा अनुबन्ध भएका छन्। गत सिजन १५ लाखमा लुम्बिनी लायन्समा रहेका उनलाई यसपटक लुम्बिनीले रिलिज गरेको थियो।
नेपाल पुलिस क्लबका विकेटकिपर दिलीप नाथ १० लाखमा लुम्बिनी लायन्समा र बायाँ हाते अलराउन्डर सन्तोष यादव पनि गोलाप्रथाबाट १० लाखमा काठमाडौं गोर्खाजमा अनुबन्धित भएका छन्।
‘सी’ क्याटागोरीका हेमन्त धामी १० लाखमा सुदूरपश्चिम रोयल्समा, आदित्य महता ५ लाखमा गोलाप्रथाबाट जनकपुर बोल्ट्समा र विशाल पटेल ५ लाखमा गोलाप्रथाबाट लुम्बिनी लायन्समा अनुबन्ध भएका छन्।