काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग अलास्कामा हुने भेटघाट 'भावनात्मक' हुने बताएका छन्। उनले युद्धविरामबारे भेटको दुई मिनेटभित्रै सम्झौता हुन्छ वा हुँदैन भन्नेबारे बताउन सक्ने दाबी गरे।
ह्वाइट हाउसमा पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले भविष्यमा हुने यस्तो बैठकमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की पनि समावेश हुन सक्ने संकेत दिएका छन्। उनले रुसी र युक्रेनी दुवै नेताहरू एकसाथ सहभागी हुन सक्ने सम्भावना औंल्याए।
ह्वाइट हाउसका एक अधिकारीले ट्रम्प दुवै नेताहरूसँग शिखर सम्मेलनका लागि तयार रहेको जानकारी दिए। त्यस्तै, नाटोका लागि अमेरिकी राजदूत म्याथ्यू ह्वाइटकरले पनि जेलेन्स्की शुक्रबार अलास्कामा हुने बैठकमा उपस्थित हुन सक्ने सम्भावना अझै रहेको बताएका छन्।