प्रधानमन्त्रीद्वारा मन्त्रीहरूलाई योजनाबद्ध ढंगले काम गर्न निर्देशन
हाम्रा कुरा
प्रकाशित २०८२ साउन ३० शुक्रबार
587
Shares
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले निर्धारित समयसीमा र योजनासहित काम सुरु गर्न सबै मन्त्रीहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारमा आयोजित मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान समारोहमा बोल्दै उनले "चल्ते चलाते" (जसरी चल्छ त्यसरी नै) काम गर्ने प्रवृत्ति त्याग्न आग्रह गरे।
प्रधानमन्त्री ओलीले विशेषगरी मिथेन ग्यास उत्खनन लाई प्राथमिकतामा राख्न निर्देशन दिए। उनले आगामी डिसेम्बरभित्र परीक्षण उत्पादन सुरु गर्नेगरी काम अघि बढाउन र सबैभन्दा छिटो काम गर्न सक्ने कम्पनीसँग ठेक्का सम्झौता गर्न भने। त्यसका लागि काठमाडौँ, विराटनगरलगायतका शहरहरूमा ग्यास वितरण र भण्डारणको योजना बनाएर अघि बढ्न पनि उनले बताए।
"काम गर्दै जाऔँ, जति हुन्छ, त्यति गर्दै जाऔँ भनेर हुँदैन," प्रधानमन्त्री ओलीले भने, "निर्धारित ढंगले काम गर्नुपर्छ। केही हाम्रा अगाडिका ठूला कामहरू छन्, युगान्तकारी कामहरू छन्। तिनलाई कसरी गर्ने? मिथेन ग्यास उत्खनन सम्बन्धी कार्यलाई सकेसम्म छिटो यो डिसेम्बरभित्रमा परीक्षण उत्पादन सुरु गर्नेगरी काम अघि बढाऔँ।"
उनले काममा ढिलासुस्ती नगर्ने ठेकेदारको आवश्यकतामा जोड दिँदै धौबारीको फलाम खानी र म्याग्नेसाइट उद्योग जस्ता बन्द रहेका उद्योगहरूलाई पनि तत्काल सञ्चालनमा ल्याउनुपर्ने बताए। यी परियोजनाहरू "गेम चेन्जर" हुने उनको भनाइ छ।