arrow

आमा

logo
प्रकाशचन्द्र खतिवडा,
प्रकाशित २०८२ साउन ३१ शनिबार
prakashchandra-khatiwada-82-4-31.jpg

न्यानो माया दिँदै 
ममता खन्याएर
वेदना, छटपटि भोगी 
प्रशव पीडाले चिच्च्याउँदै 
सन्तान जन्माउने 
अविश्रान्त क्रम बोकेकी 
आमा 
तिमी उर्वरा धरती हौ 
आमा 
तिमी सृष्टिकी मुहान हौ ।

तिमीभित्र गुम्सिए कति छटपटिहरु 
टुक्रा–टुक्रा भएको तिम्रो मन 
कसले रसाएर जोड्ला ?
दुःखेको मन बोकेर 
सुखको सपना देख्न सकिँदैन 
तिम्रो सुख खोसिएको छ
तिमी प्रताडित छौ 
आफ्नै घर आँगनहरुमा । 

चाहनाका चाङ होलान् कति ?
भावना सल्बलाए होलान् कति ? 
कति रोयौ ? 
कति बगायौ आँसु ? 
तिम्रो आँसुको मूल्य कसले तिर्ने ? 

भोक धेरै खप्यौ 
रोग धेरै पचायौ 
शोकाकुल तिम्रो मन 
मन माझ्ने सारथि खोइ कहाँ भेट्टायौ र ?

स्नेहले छाती चुसायौ 
मजेत्रोभित्र लुकाई 
जाडो कटायौ 
सन्तानहरु हुर्केको देखेर 
कति आशा फूलायौ ? 
भविष्यको सुन्दर सपना देख्दै 
दुःख पीडा बिर्सियौ 
तिम्रो दूधको भारा 
खै कुन सन्तानले तिर्न सक्यो र ?


कसिङ्गर बढार्यौ दलानहरुमा 
पानी बोक्यौ पँधेरीहरुमा 
लेक बेसी दर्गुनै पथ्र्यो 
भोक तिर्खा खप्नै पथ्र्यो 
पतिको सेवा गर्ने नाममा 
गोडाको पानी खानै पथ्र्यो
जश कुन लोग्नेले दियो र तिमीलाई ?
तिमी सती हुनु पर्ने 
तिमी सावित्री हुनु पर्ने 
तिमी सीता हुनु पर्ने 
पतिव्रता धर्मको नाममा 
के तिमी सधै दास बन्नु पर्ने ? 

सहनशीलताकी खानी तिमी 
बोल्दै नबोली
धैर्य बनेर
सत्कारमा निहुरिँदा पनि 
कुन समाजले तिमीलाई चोथाले भनेन र ?
 
अन्धकारमा जस्तै रुमल्लियौ मझेरीहरुमा 
परिवर्तन थाहै दिइएन तिमीलाई 
अनुशासनको नाममा कठपुतली बनाइयो तिमीलाई 
अधवैंशे उमेरमै विधवा बनेपछि 
तिम्रो अस्तित्वलाई गिद्धे दृष्टि लाउनेहरुले 
तिमीलाई पोइ टोकुवाइको आरोप लगाएनन् र ?

विचलित मानसिकता लिएर 
विवश जिन्दगी घिसार्यौ 
तिमी मर्यौ 
तिम्रो आत्मा मर्यो 
बाँच्ने नाममा कति पटक मर्छ्यौ आमा ? 
चुडाँल्देउ जन्जिर 
फ्याँकिदेउ घुम्टो र बुर्का 
मुक्त घोषित गर पिँजडाबाट 
उड्दै जाउ खुला आकाशमा 
र उन्मुक्त हाँस । 

                                



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ