न्यानो माया दिँदै
ममता खन्याएर
वेदना, छटपटि भोगी
प्रशव पीडाले चिच्च्याउँदै
सन्तान जन्माउने
अविश्रान्त क्रम बोकेकी
आमा
तिमी उर्वरा धरती हौ
आमा
तिमी सृष्टिकी मुहान हौ ।
तिमीभित्र गुम्सिए कति छटपटिहरु
टुक्रा–टुक्रा भएको तिम्रो मन
कसले रसाएर जोड्ला ?
दुःखेको मन बोकेर
सुखको सपना देख्न सकिँदैन
तिम्रो सुख खोसिएको छ
तिमी प्रताडित छौ
आफ्नै घर आँगनहरुमा ।
चाहनाका चाङ होलान् कति ?
भावना सल्बलाए होलान् कति ?
कति रोयौ ?
कति बगायौ आँसु ?
तिम्रो आँसुको मूल्य कसले तिर्ने ?
भोक धेरै खप्यौ
रोग धेरै पचायौ
शोकाकुल तिम्रो मन
मन माझ्ने सारथि खोइ कहाँ भेट्टायौ र ?
स्नेहले छाती चुसायौ
मजेत्रोभित्र लुकाई
जाडो कटायौ
सन्तानहरु हुर्केको देखेर
कति आशा फूलायौ ?
भविष्यको सुन्दर सपना देख्दै
दुःख पीडा बिर्सियौ
तिम्रो दूधको भारा
खै कुन सन्तानले तिर्न सक्यो र ?
कसिङ्गर बढार्यौ दलानहरुमा
पानी बोक्यौ पँधेरीहरुमा
लेक बेसी दर्गुनै पथ्र्यो
भोक तिर्खा खप्नै पथ्र्यो
पतिको सेवा गर्ने नाममा
गोडाको पानी खानै पथ्र्यो
जश कुन लोग्नेले दियो र तिमीलाई ?
तिमी सती हुनु पर्ने
तिमी सावित्री हुनु पर्ने
तिमी सीता हुनु पर्ने
पतिव्रता धर्मको नाममा
के तिमी सधै दास बन्नु पर्ने ?
सहनशीलताकी खानी तिमी
बोल्दै नबोली
धैर्य बनेर
सत्कारमा निहुरिँदा पनि
कुन समाजले तिमीलाई चोथाले भनेन र ?
अन्धकारमा जस्तै रुमल्लियौ मझेरीहरुमा
परिवर्तन थाहै दिइएन तिमीलाई
अनुशासनको नाममा कठपुतली बनाइयो तिमीलाई
अधवैंशे उमेरमै विधवा बनेपछि
तिम्रो अस्तित्वलाई गिद्धे दृष्टि लाउनेहरुले
तिमीलाई पोइ टोकुवाइको आरोप लगाएनन् र ?
विचलित मानसिकता लिएर
विवश जिन्दगी घिसार्यौ
तिमी मर्यौ
तिम्रो आत्मा मर्यो
बाँच्ने नाममा कति पटक मर्छ्यौ आमा ?
चुडाँल्देउ जन्जिर
फ्याँकिदेउ घुम्टो र बुर्का
मुक्त घोषित गर पिँजडाबाट
उड्दै जाउ खुला आकाशमा
र उन्मुक्त हाँस ।