काठमाडौँ । आज देशभर भगवान् विष्णुका आठौँ अवतार श्रीकृष्णको जन्मोत्सव मनाइँदैछ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने भगवान् श्रीकृष्णको पूजा-आराधना गरी यो पर्व मनाउँछन्।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको विश्वास गरिन्छ, त्यसैले यस दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ पनि भनिन्छ।
यस अवसरमा देशभरका कृष्णमन्दिरहरूमा विशेष पूजा-आराधना, प्रवचन र भजनकीर्तन गरिन्छ। भक्तजनहरू, विशेषगरी महिला र पुरुषहरू, व्रत बसी रातभर जाग्राम बस्ने प्रचलन छ। आज ललितपुरको पाटनस्थित कृष्ण मन्दिर, भक्तपुरको कृष्ण मन्दिरलगायत देशभरका भगवान् श्रीविष्णुका मन्दिरहरूमा पूजाआराधना गर्नेहरूको ठूलो भीड लागेको छ।