कर्मचारीको कार्यशैलीप्रति उपप्रधानमन्त्री सिंहको असन्तुष्टि, ढिलासुस्ती अन्त्य गर्न निर्देशन [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ २ सोमबार
671
Shares
काठमाडौँ। उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालयका कर्मचारीहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। आज मन्त्रालयमा आयोजित कार्यसम्पादन सम्झौता कार्यक्रममा बोल्दै उनले कर्मचारीहरूमा कामप्रतिको ढिलासुस्ती र आलटाल गर्ने प्रवृत्ति बढेको भन्दै आलोचना गरे।
मन्त्री सिंहले कर्मचारीहरूले संस्थागत स्वामित्व लिएर काम नगर्दा आयोजनाहरू समयमा सम्पन्न हुन नसकेको बताए। उनले ३ वर्षमा सक्नुपर्ने काम ६ वर्ष लाग्ने र २ वर्षमा हुने काम ४ वर्षसम्म पनि नहुने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले ऐन, नियम र निर्देशिकाअनुसार समयमै निर्णय गर्न र काममा ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्।
“जनतालाई सेवा दिनका लागि मन्त्रालय गठन भएको हो,” मन्त्री सिंहले भने, “काममा अनावश्यक ढिलासुस्ती गरेपछि जनताले सरकारले काम गर्न नसकेको महसुस गर्छन्।”
कार्यक्रममा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले मन्त्री र आफूबीच कार्यसम्पादन सम्झौता भएको जानकारी दिए। यो सम्झौताअनुसार अब मन्त्रालयका सबै निकायको कार्यप्रगतिको मासिक रिपोर्टिङ मन्त्रीलाई बुझाउनुपर्नेछ। यदि लक्ष्य हासिल नभएमा त्यसको स्पष्ट कारण र प्रमाणसहित अर्को महिना पूरा गर्ने कार्ययोजना पेस गर्नुपर्ने व्यवस्था गरिएको उनले बताए।
यो सम्झौता सरकारको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रमअनुसार मन्त्रालयका कार्यक्रमहरू निर्धारित समय, लागत र गुणस्तरअनुरूप सम्पन्न गर्ने उद्देश्यले गरिएको हो।