कानूनले पैसा तिराउने वातावरण बनाउनुपर्छ, थुन्ने होइन: सभापति चालिसे [भिडियो]
'वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक'सर्वसम्मत पारित
हाम्रा कुरा
प्रकाशित २०८२ भदौ ४ बुधबार
647
Shares
काठमाडौँ। प्रतिनिधि सभाको अर्थ समिति सभापति सन्तोष चालिसेले नेपालका विद्यमान कानूनहरूको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले अहिलेका कानूनहरू 'थुनेर कुरा सुन्ने' खालका रहेको र यसले कुनै निकास नदिने बताए।
बुधबार अर्थ समितिको बैठकमा उनले कसैले पैसा खाएको छ भने त्यसलाई जेलमा राख्नुभन्दा बाहिर राखेर पैसा तिर्न लगाउनुपर्ने धारणा राखे। उनले भने, "पैसा कसैले खाएको छ भने उसलाई तिराउने हो नि। थुन्ने होइन नि। कसैले कसैको पैसा खाएको छ भने पैसा तिराउने वातावरण हाम्रा कानूनले बनाइदिनुपर्छ।"
उनले २५ हजारभन्दा बढी भारतीय रुपैयाँ नेपाल ल्याउन नदिने कानून पनि ठीक नभएको भन्दै त्यस्तो प्रावधान संशोधन गर्नेगरी भन्सार विधेयक अघि बढाइने बताए।
बुधबारको बैठकले 'वैकल्पिक विकास वित्तसम्बन्धी विधेयक' लाई सर्वसम्मत रूपमा पारित गरेको छ। यो विधेयक अब सभापति चालिसेले संसद बैठकमा प्रस्तुत गर्नेछन्।